PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सभागृहमा केशव स्थापितको ठट्टा : पागलहरुलाई औषधि खान पैसा लाग्दैन



पहिलोपोस्ट

सभागृहमा केशव स्थापितको ठट्टा : पागलहरुलाई औषधि खान पैसा लाग्दैन

काठमाडौं : २५ वर्ष अगाडि काठमाडौं महानगरपालिकाको मेयर बनेका केशव स्थापितले पुनः त्यही पदमा उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट टिकट पाएर आज उनले मनोनयन दर्ता गराएका हुन्।

केशव स्थापित बेलाबेलामा विवादमा आइरहन्छन्। महत्वकांक्षी मुद्दा र पत्याउनै नसकिने योजना अगाडि सार्ने स्थापित धेरैका लागि हाँसोका पात्र पनि बन्ने गरेका छन्। सोमवार राष्ट्रिय सभा गृहमा उम्मेदवारी दिन पुगेका उनले संचारकर्मीले सोधेका केही प्रश्नको जवाफ कमेडियन शैलीमा फर्काए।

सुरुमा नै संचारकर्मीले उनीसँग काठमाडौंको मेयर भएपछिको योजना सोधेका थिए। उनले बाटोबाटोमा योजना सुनाउँदै नहिँड्ने र यस्ता मानिससँग सङ्गत नगर्न समेत पत्रकारलाई ठट्टा गर्दै आग्रह गरे। गठबन्धनलाई कसरी हेर्नु भएको छ भन्ने अर्को प्रश्न तेर्सियो उनीसामु। त्यसलाई पनि उस्तै पारामा जवाफ दिए उनले। त्यस्तै उप प्रमुख सुनिता डंगोलमाथिको टिप्पणी पनि हसाउँने खालकै थियो।

'उहाँको स्किलको बारेमा हेर्नुहोस् त एक दिन लाग्छ। उहाँको आवाज सुन्नु होस त लता मंगेशकर जस्तो छ,' सुनिताबारे उनले भने।

उम्मेदवारी दर्ता गर्दा काठमाडौँका मेयर विद्यासुन्दर शाक्य भने देखिएनन्। मेयरको टिकट स्थापितले पाएपछि शाक्य असन्तुष्ट छन्। उनी पुन: मेयर बनेर काठमाडौं महानगरको नेतृत्व गर्न चाहन्थे।

तपाईँले टिकट पाउँदा उहाँ (विद्यासुन्दर) खुशी हुनुहुन्न रे नि? पत्रकारको प्रश्न थियो।

'उहाँ खुशीमा यति गदगद हुन्छ कि यहाँ आउँदाखेरी पेटमा काउकुती लाग्ला भनेर आइरहेको छैन,' स्थापितले भने।

केशव स्थापितमाथि यौन दुर्व्यवहारको आरोप समेत लागेको छ। त्यही विषयमा आज उम्मेदवारी दर्ता हुँदा सञ्चारकर्मीले प्रश्न समेत उठाएका थिए। संवेदनशील विषयको प्रश्नलाई स्थापितले हल्का शैलीमा जवाफ दिए। उनले पागलहरूलाई औषधी खान पैसा नलाग्ने भन्दै उल्टै व्यङ्ग गरे। यस्ता कुरा नआए आफू केशव स्थापित नहुने समेत तर्क गरेका थिए उनले।

'विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? आइरहनु पर्‍यो। ५ सय ५० मुद्दा लागेको बेला ५० मुद्दा थपिबक्सियोस् भनेर निवेदन हाल्ने मान्छे हो क्या,' उनले भने।

उनले सबै प्रश्नको जवाफ उही शैलीमा दिएपछि सञ्चारकर्मीले फेरि उनलाई तपाईँ यसरी उडन्ते योजना बनाउनुहुन्छ नि ! भनेर टिप्पणी गरेका थिए। त्यसपछि उनको फेरि अर्को जवाफ आयो - 'एमालेले उठाउने नै हो। त्यो बिस्तारै हिंडेर हुन्छ? एयरपोर्टमा लग्‍ने, उडाउने। पाइलट बन्ने अनि तपाईँहरूलाई सवार गर्ने र गन्तव्यमा पुग्‍ने।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell