काठमाडौं : ललितपुर महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका हरिकृष्ण ब्यञ्जनकारले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। आज मनोनयन पत्र दर्ता गराएपछि उनले आफू नेपाली कांग्रेसका उम्मेदवारभन्दा ५ हजार बढी मतले जित्ने बताएका हुन्।
‘हामी ५ हजार बढी मतले जित्छौ’ उनले भने।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका चिरिबाबु महर्जनले २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी भएका थिए। ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। त्यस्तै, माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।
चिरिबाबुसँग ब्यञ्जनकार मात्र ३ सय २६ मतले पराजित भएका थिए। चुनावी परिणामसँग असन्तुष्ट भएका ब्यञ्जनकार अदालतसम्म पुगेका थिए।
उनले चिरिबाबु महर्जनको कार्यकालमा भएका योजनाहरुको आलोचना समेत गरे ललितपुरमा साइकल लेन बनाएर चर्चामा आएका महर्जनको योजनालाई उनले हावादारी योजनाको संज्ञा दिए।
भने, ‘चिरिबाबुले साइकल लेनको नाममा सडक पोत्ने काम बाहेक केही गरेनन्।’
२०७४ सालमा ललितपुर महानगरमा १ लाख १२ हजार ९ सय २३ मतदाता थिए। यसपटक महानगरमा १ लाख २२ हजार ८ सय ९० पुगेको छ। यसपटक करिब ९ हजार मतदाता थपिएका छन्। ललितपुरमा जातीय मतको धेरै भार छ। महर्जन र ब्यञ्जनकार दुवै ज्यापु समुदायबाट प्रतिनिधित्व गर्छन्। उक्त समुदायको मतलाई पनि ललितपुरमा निर्णायक मानिन्छ।