
हेटौँडा : नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर/उपमेयर सहित १९ वटै वडाध्यक्ष र सदस्यहरुको उम्मेदवारी दर्ता गरेको छ।
एमालेको तर्फबाट हेटौँडा उपमहानगरको मेयरमा अनन्त प्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गरेका छन्। एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन्। उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट रहेका छन्।
एमाले जिल्ला पार्टी कार्यालय हेटौँडाबाट र्यालीसहित उम्मेदवारी दर्ताको लागि उम्मेदवार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। हेटौँडा उपमहानगरमा एमालेले बहुदल आएपछिका सबै स्थानीय तहको निर्वाचनमा मेयर/उपमेयरमा जित हाँसिल गरेको छ।
संघीयतापछि भएको स्थानीय तहको निर्वाचन २०७४ मा पनि एमालेले माओवादी-कांग्रेसको गठबन्धनलाई पराजित गर्दै हेटौँडाको मेयर-उपमेयरसहित १९ मा १२ वडाको वडाध्यक्ष जितेको थियो। एमालेबाट मेयरमा हरिबहादुर महत तथा उपमेयरमा मिना लामा विजयी भएका थिए।
एमालेबाट मेयरका उम्मेदवार संविधानसभा सदस्य समेत रहेका पौडेल अनुभवी नेता हुन्। उनी एमाले मकवानपुरका पुराना तथा संगठनमा भिजेका नेताको रुपमा चर्चित छन्।
एमालेले उपमेयरमा टिकट दिएकी काफ्ले युवा नेत्री हुन्। उनी हाल एमालेकी जिल्ला सचिवालय सदस्य एवं अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष समेत हुन्।
यसैगरी, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा उत्तम प्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नविन सिग्देल र ५ मा शुशिल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, वडा नम्बर ६ को वडाध्यक्षमा विश्वराज राई, ७ मा राजन थापा, ८ मा बोलबहादुर कार्की, ९ मा लक्ष्मण प्रसाद दाहाल भण्डारी र १० मा फुर्वादोर्जे लामाले उम्मेदवारी दर्ता गराएका छन्।
उपमहानगरको वडा नम्बर ११ मा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्त प्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिल कुमार बानियाँ र १९ मा नरनाथ सुवेदीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।