
बुटवल : आसन्न स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानगरपालिकको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
सोमवार दिउँसो नेता कार्यकर्ताका साथमा बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनका तर्फबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले उम्मेदवारी दिँदैछन्।
मनोनयन दर्ता गर्ने अन्तिम दिन भएकाले नेकपा (एमाले) सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरुले पनि आजै उम्मेदवारी दर्ता गर्दैछन्।
बुटवल उपमहानगरमा राप्रपाका तर्फबाट सञ्चार उद्यमी मृगेन्द्र शेरचनले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् भने उप प्रमुखमा भगवती पाण्डेको उम्मेदवारी परेको छ।
यसअघि आइतवार पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन त्यागेर प्रमुख र उपप्रमुख दुवैमा एकल उम्मेदवारी दर्ता गराइसकेको छ।
जसपाबाट प्रमुखमा सुरज हितान मगर र उपप्रमुखमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्। सम्मानजनक रूपमा टिकट वितरण नभएको भन्दै बुटवलमा जसपा सत्ता गठबन्धनबाट बाहिरिएको हो।