चितवनः भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उनले मनोयन दर्ता गराएका हुन्।
पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहेका छन्।
मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताए। मनोनयन दर्ता गर्नुअघि सुवेदीले पार्टी कार्यालय पसिरमा रहेको मदन भण्डारी र जीवराज आश्रित तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गएर बिपी कोइरालाको शालिकमा माल्यापर्ण गरेका थिए।