काठमाडौं : केहीदिन देखि ठमेलको चाक्सीबारी निकै व्यस्त रह्यो। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उठाउने पक्का भएपछि उनलाई भेट्न पुग्नेहरुको घुँइचो लागेको थियो चाक्सीबारीमा।
हुन त अरु बेला पनि घर आउने अतिथिहरुसँग राम्रै तरिकाले बोल्छिन् सिर्जना। तर त्यो बेला आउने अधिकांश प्रकाशमान सिंहसँग भेटघाटका लागि आउँथे। यसपटक भने चाक्सीबारीको भिड प्रकाशमानको लागि होइन सिर्जनाको लागि थियो। नेपाल विद्यार्थी संघ र नेपाल महिला संघसँगै अन्य केही समूह दिनहुँ चाक्सीबारी पुगि नै रह्यो।
यसबिच गठबन्धनमा महानगर प्रमुखमा सिर्जना सिंहलाई उठाउने सहमति बनिसकेको थियो। तर आधिकारिक रुपमा नाम भने आजमात्रै घोषणन गरियो। तर, मनोनयन पाउने पक्का भएको थाहा पाएकी सिर्जनाले भने पुरै तयारी गरिसकेकी थिइन् आज मनोनयनका लागि।
बाजागाजा र कांग्रेस कार्यकर्ताको लस्करै लिएर उनी सभागृह पुगिन्। शान्ति बाटिकामा भेला भएका कांग्रेस कार्यकर्ताको नाराबाजीबिच दुई छोराहरुलाई दायाँबायाँ राखेर उनी मनोनयन दर्ता गराउन पुगिन्। मनोनयन दर्ता गराएपछि प्रकाशमान पनि सभागृहमा पुगे। सिर्जनासँगै प्रकाशमान केही बेर सभागृहमा हिँड्डुल गर्न थालिन्।
यसअघि मिडियामा धेरै नआएका कारण होला मिडिया पनि सिर्जनाको वरिवरि थिए। विद्यार्थीकाल देखि नै नेपाल विद्यार्थी संघमा संलग्न रहेकी उनले मनोनयन दर्ता गराएपछि आफ्नो संघर्षका कुरा राखिन्। कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफूले प्रकाशमानलाई चिन्नुभन्दा अघि देखि नै संघर्ष गरेको बताइन्।