
काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखका नेकपा एकीकृत समाजवादीबाट रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारुढ गठबन्धनमा भएको भागबन्डामा काठमाडौं महानगर प्रमुख नेपाली कांग्रेस र उपप्रमुख एकीकृत समाजवादीले पाएको हो। कांग्रेसले महानगर प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ। एकीकृत समाजवादीले भने नगर कमिटी अध्यक्ष श्रेष्ठलाई उम्मेदवार बनाएको हो।
मनोनयन दर्ता पछि उनले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने बताए। यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाको फोहर व्यवस्थापनको कार्य वैज्ञानिक तबरले समाधान गर्न आफू केन्द्रित हुने उनले बताए।
‘फोहर प्रशोधन केन्द्र स्थापना गर्नेछौँ। ट्रकमा हालेर फोहर बाहिर लैजाने अवस्थाको अन्त्य गर्नेछौँ। प्रशोधन केन्द्रमार्फत फोहरलाई मोहरमा बदल्नेछौँ,’ उनले भने।
नेकपा एमालेबाट भने महानगर उपप्रमुखमा सुनिता डंगोलले उम्मेदवारी दिएकी छिन्।