PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

सामाजिक सञ्जालको त्यो भिडियो जसले पौडेललाई 'किक आउट' गर्दै फेरि २५ वर्षपछि थापाको पोल्टामा पुर्‍यायो उम्मेदवारी



पहिलोपोस्ट

सामाजिक सञ्जालको त्यो भिडियो जसले पौडेललाई 'किक आउट' गर्दै फेरि २५ वर्षपछि थापाको पोल्टामा पुर्‍यायो उम्मेदवारी

काठमाडौं : बिलजस्तो कागज हेरिरहेका हुन्छन्। सुन पसलमा पुगेका उनले नजिकैबाट सुन हेर्न भन्दै तान्छन्। सुन पसलमा अरू मान्छेहरू पनि हुन्छन्। त्यतिकैमा त्यो हातमा लिएको सुन यताउता हेर्दै आफ्नो गोजीमा हाल्छन्।

४० सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। पोखराको सुन पसलमा सुटुक्क सुन गोजीमा हाल्ने व्यक्ति दीपक पौडेल भएको भन्दै सामाजिक सञ्जाल तात्यो। दीपक पौडेल एमालेबाट वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा पोखर महानगरपालिकाबाट मेयरमा टिकट पाएका व्यक्ति हुन्।

तर, टिकट पाउने आश्वासन पाएको ७२ घण्टा नबित्तै उनको हातमा आएको टिकट फुत्किएको छ। एमालेले दीपकको ठाउँमा कृष्ण थापालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ। थापा पोखराका पूर्व मेयर हुन्। २०५४ मा पनि पोखराको मेयर बनेका उनी गत संविधानसभा निर्वाचनमा कास्की २ बाट काङ्ग्रेसकी शारदा पौडेलसँग पराजित भएका थिए।

त्यसो त पोखरा महानगरपालिकामा कसलाई टिकट दिने भन्ने विषय एमालेभित्र नै विवादित थियो। पोखरामा खगराज अधिकारी र पृथ्वी सुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको थियो। विवाद बढेपछि मेयरको उम्मेदवार टुङ्गो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको थियो। त्यही बिचमा शनिवार दीपकले टिकट पाएका थिए।

आइतवार र सोमवार निर्वाचन आयोगले मनोनयन दर्ता गर्न समय निर्धारण गरेको छ। आइतवार ठूला दलले थोरै ठाउँमा मात्र मनोनयन दर्ता गरे। सबै ठिक हुन्थ्यो भने आज सोमवार बिहानै दीपकले उम्मेदवारी दर्ता गर्ने थिए। तर उनले पाएको टिकट खोसियो। दिइसकेको टिकट खोस्न पार्टीको गुट सक्रिय थियो नै जसमा उत्प्रेरक बन्यो सुन पसलमा भएको 'चोरी काण्ड'।

चोरीको प्रकरण सामाजिक सञ्जालमा भाइरल भएपछि पौडेल विरुद्धको टिम फेरि सक्रिय भयो र पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष पुग्यो पुनर्विचार गर्नुपर्ने प्रस्ताव। सोमवार बिहान अध्यक्ष ओली निवास बालुवाकोटमा पोखरेली मेयरको विषयमा शीर्ष नेताहरु बिच छलफल भएको थियो। अध्यक्ष ओलीको आदेशमा पुनः थापालाई मेयरको उम्मेद्वार बनाउन सिफारिस गरियो।

'यस्तो प्रश्न उठिसकेपछि उहाँले राम्रो ढंगले नै म उठ्दिन। पार्टीका अन्य सदस्यलाई सहयोग गर्छु भन्नु भयो। उहाँले अब कानुनी बाटो खोज्नु होला,' नेकपा एमालेका नेता सुभाष नेम्बाङले भने।

आइतवार दिनभर दीपकले आफू सुन चोर्ने व्यक्ति नभएको भन्दै बचाउ गरे तर पत्याउने कोही भएनन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियो तत्कालको भने होइन। भिडियो पाँच वर्षभन्दा अगाडिको भएको बुझिएको छ। तर कहिलेको र भिडियोमा भएका व्यक्ति दीपक पौडेल नै हुन् भन्ने स्वतन्त्र रुपमा पुष्टि गर्ने आधार छैन। नजिकबाट चिन्नेजान्ने र पार्टीका फरक गुटक नेताहरू भिडियो दीपककै भएको दाबी गरिरहेका छन्। पौडेलले पनि उक्त भिडियोमा आफू नभएको भनेर उजुरबाजुर गरेका छैनन्।

सुन चोरीको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पनि घटनाबारे सामान्य चासो राखेको छ। तर, प्रहरीमा कसैले पनि उजुरी दिएका छैनन्।

'हामीले पनि भाइरल भएपछि घटनाको जानकारी लिन खोजेका छौँ। केही वर्ष अगाडिको केस भएकाले के हो भन्ने बुझ्न सकिएन। आज भोलि कोही पनि उजुरी गर्न आउनु भएको छैन,' जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकृतले सुनाए।

यता दीपक भिडियोमा देखिएको व्यक्ति आफू नभएको दावी गरिरहेका छन्। यदि उनी नभएको भए जसले उनीविरुद्ध प्रोपागान्ड गरे त्यसलाई तह लगाउन कानुनी बाटो रोजेनन्? सबैले यही प्रश्न गरिरहेका छन्। पार्टीभित्र टिकटको विषयमा विवाद हुँदा दीपकसँग असन्तुष्ट पक्षले भिडियोलाई आधार बनाएर चरित्र हत्या गर्ने पूर्व तयारीमा बसेका पार्टीका नेताहरु नै बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell