PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

जनकपुरधाम उपमहानगरको मेयरमा १७ र उपमेयरमा १० जनाले दिए उम्मेदवारी



पहिलोपोस्ट

जनकपुरधाम उपमहानगरको मेयरमा १७ र उपमेयरमा १० जनाले दिए उम्मेदवारी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख पदमा १७ र उपप्रमुख पदमा १० जनाले उम्मेदवारी दिएका  छन्।

राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यस्तै, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन्।

सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरि आज मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन्।

करिब ५ दिन अगाडि एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको समूहबाट उपमेयरमा युवा नेता सरोज कुमार मिश्रले मनोनयन दर्ता गराएका हुन्।

त्यस्तै, नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेय उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा संतोष कुमार साहले मनोनयन दर्ता गराएका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। जनकपुरधामको मेयर पदमै नेकपा (माले)बाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन्।

त्यस्तै, मेयर पदमै स्वतन्त्र तर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको छ।

यसअघि एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले आइतवार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन आयोगले आइतवार र सोमवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो।

धनुषामा राष्ट्रिय मान्यताप्राप्त दल कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन्।

यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन्। यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए।

यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए।

यही बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि धनुषामा ४ लाख ६७ हजार ३२८ जना मतदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell