
काठमाडौं : काठमाडौं महानगरको मेयर उपमेयरमा विप्लवको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। मेयर पदमा पत्रकार निमकान्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उपमेयर पदमा उमा गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी हुन्।
यी दुबैलाई विप्लव नेतृतवको नेपाल कम्युनिस्ट पार्टीले सहयोग गर्ने भएको छ। पाण्डे अधिवक्ता तथा जनधारणा साप्ताहिकका सम्पादक हुन्।
'आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उमेदवारी दर्ता गरियो। उपप्रमुख(उपमेयर) पदमा समान धारणाका साथ उमा गुरुङले उमेदवारी दिनुभएको छ,' मेयरका प्रत्यासी पाण्डेले फेसबुकमा लेखेका छन्, 'हामी दुबैको मान्यता वैज्ञानिक समाजवाद बिना जनता र देशका लागि वर्तमान व्यवस्थामा केही गर्न सकिने छैन भन्ने नै हो।'
उनले आफ्नो मान्यताबारे जनतालाई स्पष्ट पार्दै तत्कालका लागि यही व्यवस्था अन्तर्गत विजयी भए महानगरमा चल्ने बसमा नि:शुल्क यात्राको व्यवस्था गर्ने प्रयास गर्ने बताएका छन्।
यस्तै, महानगरभित्रका सबै स्कूल र कलेजहरुमा नि:शुल्क शिक्षाको व्यवस्था, महानगरमा प्रत्येक विद्युत मिटरमा २०० युनिटसम्मको शुल्क मिनाहा र एक ईण्डक्सन चुलो नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ। पिउनेपानी नि:शुल्क, महानगरमा चक्रपथ भित्र मोनोरेल निर्माण अभियान थालनी, बाहिरी चक्रपथ विस्तार प्रारम्भ, फोहरबाट मोहर कमाउने अभियान अन्तर्गत फोहरबाटै प्रांगारिक मल उत्पादन, फोहरबाटै ग्यास उत्पादन सुरु गर्नेसमेत प्रतिवद्धता गरिएको छ।