PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

वीरगंज महानगर प्रमुख र उपप्रमुखमा कुन दलबाट क-कसले दिए उम्मेदवारी ?



राधेश्याम पटेल

वीरगंज महानगर प्रमुख र उपप्रमुखमा कुन दलबाट क-कसले दिए उम्मेदवारी ?

काठमाडौं : वीरगंज महानगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दोस्रो दिन मुख्य दलहरुबाट टिकट पाएकाहरुले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपालको गठबन्धनबाट महानगर प्रमुखमा निवर्तमान नगरप्रमुख विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, उपप्रमुखमा लोसपाका पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमालेलगायतको गठबन्धनबाट चारवटा वडामा लोसपा र राप्रपा नेपालले उम्मेदवारी दर्ता गराएका छन् भने २८ वटा वडामा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष र वडासदस्यको उम्मेदवारी दर्ता भएको छ।

सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का नेता राजेशमान सिंहले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। सोही गठबन्धनबाट नेपाली कांग्रेसका नेता इम्तियाज आलमले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।

सत्तारुढ गठबन्धनबाट वीरगंज महानगरपालिकाको ३२ वटा वडामा भागबन्डा अनुसार वडाध्यक्ष र वडासदस्यहरुमा उम्मेदवारी दर्ता भएको छ।

यस्तै, वीरगंज महानगरको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पत्रकार गिरिश गिरीले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा सोही पार्टीबाट विणा जयसवालको उम्मेदवारी परेको छ।

बिहान १० देखि ५ बजेसम्मको उम्मेदवारी दर्ताको लागि सोमवार अन्तिम समय कार्यतालिका रहे पनि मुख्य दलहरुले अपराह्न २ बजेपछि मात्रै उम्मेदवारी दर्ताका लागि जुलुस लिएर पुगेका थिए।

पावर हाउस नजिक रहेको जिल्ला समन्वय समितिमा रहेको निर्वाचन कार्यालयमा विभिन्न पार्टीका नेता उम्मेदवारहरुले बाजागाजासहित नारा जुलुस लिएर उम्मेदवारी दर्ता गर्ने पुगेका थिए।

निर्धारित समय कटे पनि लाइनमा बसेका उम्मेदवारहरुको मनोनयन दर्ता भइरहेको आयोगले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell