PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पूर्वसहयात्रीबीचको प्रतिस्पर्धाः पोखरामा कृष्ण र धनराजमा कसको पल्ला भारी?



रिना थापा

पूर्वसहयात्रीबीचको प्रतिस्पर्धाः पोखरामा कृष्ण र धनराजमा कसको पल्ला भारी?

पोखराः विवाद र खटपटबीच नेपाल कम्युनिस्ट पार्टी (एमाले) र सत्ता गठबन्धनले उम्मेदवारी टुंगो लगाएर पोखरा महानगरको प्रमुख र उपप्रमुखमा अन्तिम समयमा मनोनयन दर्ता गराए।

एमालेबाट महानगर प्रमुखमा कृष्ण थापाको मनोनयन दर्ता भएको छ भने उपप्रमुखमा पुनः मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएकी छन्। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य प्रमुखको उम्मेदवार बनेका छन् भने कांग्रेसबाट कोपिला रानाभाटले उपप्रमुखमा मनोनयन दर्ता गराएकी छन्।

गण्डकीको राजधानीको महानगर पोखराको नेतृत्व कसले हाँक्छ यतिबेला चासोको विषय छ। झन्, एमाले र गठबन्धनबाट उठेका कृष्ण र धनराज बलियो उम्मेदवार मानिन्छन्। एमालेका उम्मेदवार गण्डकी प्रदेशका पूर्वसांसद पनि हुन्। उनले सोमबारमात्र सांसद पदबाट राजीनामा दिएर प्रमुखमा मनोनयन दर्ता गराएका हुन्।

०४१ सालदेखि सुरु भएको कृष्णको राजनीतिक यात्रा, उपमहानगरको प्रमुख हुँदै प्रदेश सांसद र महानगर प्रमुखको उम्मेदवारीसम्म आइपुगेको छ। महानगरको प्रमुखमा दाबी गरिरहेका कृष्ण ०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिका प्रमुख पनि हुन्। त्यस समय उनले दुई हजार बढी मतान्तरले उपमहानगरको प्रमुख हाक्ने जिम्मेवारी पाएका थिए।

उपमहानगरको जिम्मेवारी सम्हाल्दा उनले ०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले बनाएको योजनाको जगमा उभिएर पोखरा विकासको लागि गुरुयोजना अघि सारेका थिए। तर, कार्यकालको अन्तिम समयमा आएर सारेको गुरुयोजना सफल हुन सकेन। त्यसपछि ०७४ सालमा कास्की २ (क) बाट ७ हजार ४ मतान्तरले विजयी हुँदै प्रदेश सभा सदस्य निर्वाचित भए। राजनीतिमा निरन्तर रहेका र पार्टीभित्र राम्रो प्रभाव पारेका कृष्ण एमालेबाट बलियो उम्मेदवार मानिन्छन्।

यता कृष्णका प्रतिस्पर्धी धनराज उनका पूर्वसहयात्री हुन्। ०३९ सालदेखि राजनीति सुरु गरेका धनराज ०६० सालमा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख भएर काम गरेका थिए। राजनीतिसँगै व्यवसायिक जीवनमा गति लिएका धनराज एमालेभित्रको विवाद चुलिएपछि माधव नेपाल पक्षमा आएका हुन्। उनी समाजवादीको जिल्ला अध्यक्ष पनि हुन्।

पृथ्वीनारायण क्याम्पसदेखि राजनीतिमा सक्रिय भएका धनराज ०४८ सालमा अनेरास्ववियु गण्डकी अञ्चल अध्यक्ष, ०४९ सालमा अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य, ०५१ सालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पृथ्वीनारायण क्याम्पस सभापति भएका थिए।

एकै राजनीतिक पृष्ठभूमिबाट राजनीतिमा आएका दुबैको छवि पार्टीभित्र पनि राम्रो छ। लामो समय एमालेको राजनीतिमा सक्रिय रहेका धनराजको सम्बन्ध एमालेकै कार्यकर्तासँग पनि राम्रो रहेको एमालेको नेताहरु सुनाउँछन्। यद्यपि, गठबन्धनले पोखरा महानगरको प्रमुख एसको भागमा दिने निर्णय गरेसँगै खुसी मनाएको एमालेले उनलाई कमजोर प्रतिद्वन्दीको रुपमा हेरिरहेको छ।

एमालेले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहँदा धनराजले १८ हजार मतान्तरले प्रमुखमा जित निकाल्ने दाबी गरिरहेका छन्। प्रमुखमा मनोनयन दर्ता गराएपछिको कुराकानीमा गठबन्धनले १८ हजार बढी मतले जित निकाल्ने दाबी गरेका थिए। उनले गठबन्धन मिलेर गएको हुँदा नजित्ने भन्ने प्रश्न नरहेको बताए।

धनराजले त्यसो भनिरहदा कांग्रेसबाट पोखरा महानगरको प्रमुखमा दुई जना नेताले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन्।

आइतबार विमल कार्की र ऋषि सापकोटाले बागी उम्मेदवारी दिएका थिए। सापकोटा कांग्रेसभित्रका प्रभावशाली नेता मानिन्छन्। यस्तै कांग्रेसकै नेता नन्दप्रसाद तिवारीले पनि प्रमुख पदमा बागी उम्मेदवारी दिएका छन्।

पोखराको प्रमुख पद कांग्रेसले नपाएको असन्तुष्टि कांग्रेस कार्यकर्ताबीच छ। यसले मतमा तलमाथि हुने सम्भावना छ। धनराजले गरेको गठबन्धनको विश्वास कायम नहुने सम्भावना प्रबल छ।

समाजवादी पोखराका अध्यक्ष मुक्ति पौडेलका अनुसार महानगरभित्र करिब ६ हजार सक्रिय कार्यकर्ता छन्। तर,पोखरामा सम्रगमा हेर्दा एमालेबाट विभाजित बनेको दलको पकड निकै कमजोर छ।

पोखरामा संगठनात्मक रुपमा एमाले बलियो छ। त्यसपछि दोस्रोमा कांग्रेसको पकड छ। गठबन्धनमा रहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पकड कमजोर छ। तर, गठबन्धन मिलेर गए एमालेको जितको सम्भावन भने कमजोर छ।

धनराज समेत एमालेको मत तलमाथि पार्न आफैँ सक्षम छन्। कांग्रेसको असन्तुष्टि मतदानमा देखिएन भने नतिजा धनराजको पक्षमा आउने सम्भावना पनि छ। ०७४ मा एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर प्रमुखमा विजयी भएका थिए। त्यतिबेला माओवादीसँग तालमेल गरेर प्रमुखमा लडेका कांग्रेसका रामजी कुवँरले ४६ हजार ४१६ मत ल्याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell