PahiloPost

Jun 21, 2024 | ८ असार २०८१

सिर्जनाले सम्झाइन राजनीतिक विरासत, केशव स्थापित भन्छन्: मेरै श्रीमती घरबाट बाहिर निस्कँदा पानी पिउँदिनन्



पहिलोपोस्ट

सिर्जनाले सम्झाइन राजनीतिक विरासत, केशव स्थापित भन्छन्: मेरै श्रीमती घरबाट बाहिर निस्कँदा पानी पिउँदिनन्

  • प्रकाश भण्डारी/ मुकुन्द घिमिरे-

काठमाडौँ: स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने छ। २०७४ सालको स्थानीय तहमा सबैभन्दा धेरै ठाउँमा जितेर पहिलो शक्ति बनेको थियो एमाले। त्यतिबेला स्थानीय तह निर्वाचनमा दोस्रो ठूलो दल बनेको थियो कांग्रेस। कांग्रेसकै नेतृत्वमा सत्ता गठबन्धन चुनावी मैदानमा छ। गठबन्धनका र एमालेका उम्मेदवारको भीडन्त रोचक हुनेनै छ। त्यसमध्ये पनि काठमाडौं महानगरपालिकामा कसले जित्ला? धेरैलाई चासो छ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको चुनौती छ एमालेका उम्मेदवार केशव स्थापितलाई। विरासतको राजनीतिबाट आएकी सिंह गणेशमानकी बुहारी हुन्। स्थापित पनि आफ्नो राजनीतिक धरातललाई यस पटक पनि काठमाडौंमा स्थापित गर्न चाहन्छन्।

स्थापित २५ वर्ष अघिको इतिहासलाई दोहोर्‍याउन चाहन्छन्। मुख्य प्रतिस्पर्धामा उत्रिन लागेकी सिंह र स्थापितले मनोनयनपछि प्रतिस्पर्धी भए पनि आफूहरुबीच हार्दिकता रहेको देखाउन पछि परेनन्। सँगै उभिएर स्थापित र सिंहले फोटो सेसन गरे।

स्थापित पछि सिर्जनाको उम्मेदवारी

एमालेका उम्मेदवार स्थापितले कांग्रेसकी उम्मेदवार सिंहको भन्दा पहिले नै उम्मेदवारी दर्ता गरे। सिंह सभागृहमा आउन भने केही समय ढिला भयो। कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह पनि सभागृह पुगेका थिए सिर्जनालाई साथ दिन। त्यसो त सिर्जना आफ्ना दुई छोरालाई साथमै लिएर आएकी थिइन उम्मेदवारी दर्ता गर्न। स्थापितको साथमा भने एमालेका शीर्ष नेता कोही देखिएनन्। हुनत उनका पक्षमा पनि एमाले कार्यकर्ताको भीड थियो।

उम्मेदवारी दर्ता गराएपछि दुबैले आ-आफ्ना एजेण्डा सुनाएका छन्। दुबैले आफ्नो जितको आधार समेत प्रष्ट्याए। आफू दोब्बर मतले जित्ने दाबी गरिरहेका छन् स्थापित। सिर्जनाले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरिन। एकातिर आफ्नो परिवारको योगदान र अर्कोतिर गठबन्धनको साथले आफ्नो जित निश्चित भएको सिर्जनाको बुझाइ छ।

स्थापितका नारा

२५ वर्षअघि आफू मेयर हुँदा काठमाडौंलाई कायापलट गरेको र फेरि पनि आफूले त्यसैगरी काम गर्ने स्थापितले दाबी गरे। उनले आफूसँग विज्ञ टोली भएको र त्यसले गर्ने काम निकै गुणात्मक हुने बताए।

'जहाँ उत्पादन हुन्छ, त्यहीँ ब्यवस्‍थापन हुन्छ। मेरो विज्ञ टिमले के भन्छ भने ६ महिनाभित्र फोहोरको कथा अन्त्य गर्छौँ। विगततिर धेरै जानु हुँदैन। पार्टीले जिम्मेवारी दियो, मैले जनताका लागि काम गरेँ। त्यो एउटा कुरा थियो। अर्बान सर्भिस सेन्टर ४८ वटा बन्छन्। लेखेर राखे हुन्छ। जस्तै बागबजारमा एउटा होला, बागबजार भरीबाट सबै कुरा त्यहाँ लिन सकिन्छ। सांस्कृतिक गतिविधि त्यहीँ होला,' विकासको योजनाबारे स्थापितले भने।

'मेरै श्रीमती घरबाट बाहिर निस्कँदा पानी खाँदैन'

त्यसो त स्थापित काठमाडौंको अहिलेको विकासको संरचना देखेर आफू दिक्दार भएको सुनाउँछन्। विकासको गलत मोडलका कारण जनताले दुख पाइरहेको मत छ स्थापितको। त्यसका लागि आफ्नै श्रीमतीको उदाहरण दिन्छन् उनी।

'मान्छेले हिँड्ने बेलामा पानी खाँदैन। मेरै श्रीमती घरबाट बाहिर निस्कँदा पानी खाँदैन। पानी खाएपछि पिसाब लाग्ने भयो। लाग्यो भने एप्रोप्रिएट टोइलेट छैन। हात धुने पानी पनि छैन। त्यसले गर्दा कुनै कफी शपमा गएर कोक खाएर टोइलेट जानुपर्ने अवस्था छ। अथवा आफन्तमा गएर पूर्व मेयरको श्रीमतीले पिसाब फेरिपाउँ भन्नुपरे लाज हुँदैन? त्यसो गर्दा त शरमको कुरा हुन्छ,' स्थापितले भने।

स्थापति काठमाडौंमा आफूले जितेमा हजारौं संख्यामा शौचालय बनाउने योजना रहेको सुनाउँछन्। फ्रिमा शौच गर्ने वातावरण बनाउने बाचा छ स्थापितको।

'हजारौँको संख्यामा शौचालय बनाएर त्यसलाई फ्रि गर्नुपर्छ जहाँ हात मुख पनि धुन सकियोस्। प्राइभेट सेक्टरसँग मिलेरै पनि त्यसलाई फ्रि गर्न सकिन्छ। पिसाब गर्नकै लागि यति कठिन भएपछि मान्छेले गाली गर्दैन,' स्थापितले भने।

'बालेनको राजनीतिक योगदान के हो?'

स्थापतिले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उठ्नेको पनि आलोचना गरे। उनले स्वतन्त्र तर्फबाट उम्मेदवार बन्नेलाई निर्दलीयताको आरोप लगाएका छन्।

'वहाँहरुको केही हजार पुग्ला। हामीले जो राजतन्त्रविरुद्ध लड्यौँ, निर्दलीयताविरुद्ध लड्यौँ, त्यो च्याप्टर नै सकिइसक्यो। त्यो राजाको कुरा बोकेर निर्दलीयताको कुरा गरेर अब नाम त लिन्न स्वतन्त्र भन्ने साथीले उसको विचार ठीक छ, संगठन ठीक छ भने वाडमा संगठन बनाउने जित्ने त्यसपछि काठमाडौंमा जित्ने भन्नुपर्‍यो,' स्थापितले भने।

स्थापितले काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर बालेन शाह उम्मेदवार बनेको भन्दै राजनीतिमा शाहको कुनै योगदान नै नभएको आरोप लगाए। स्थापितले आफ्नो योगदानका कारण पनि जनताले मत दिएर जिताउने बताए।

भने, 'हामीले जिन्दगीभर राजनीति गरेको। राजतन्त्र फ्याँकेको बेठिक अनि केही पनि नगरेको अप्रमाणित मान्छेले गरेको कसरी विश्वास हुन्छ? उसको संगठनको आधार के? जनपरिचालनको आधार के? मैले त एकीकृत जग्गा विकास गरिसकेँ। भुटानभरी एकीकृत जग्गा विकास काठमाडौंमा हेरेर भएको हो।'

परिवारको योगदान सम्झाइन सिर्जनाले

काठमाडौं महानगरको मेयरको उम्मेदवारी दर्ता गरेपछि सिंहले आफूले जितेमा काठमाडौं महानगरमा के-के गर्ने भन्ने चर्चा गरिन। अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने सिंहको संकल्प छ।

'नेपालीलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन गुरुयोजना बनाएर यो पाँच वर्षभित्र देखिने गरेर हामी महिला घरभित्र कसरी व्यवस्थापन गर्छौं काठमाडौं पनि त्यसै गरेर सफा र सुन्दर बनाएर ब्यवस्थापन गर्छौं,' उनले भनिन्।

त्यसो त उनले आफ्नो राजनीतिक विरासतलाई पनि जितको आधार बनाएकी छिन। आफ्नो परिवारको योगदानलाई पनि सम्झन सिंहले आग्रह गरिन।

'म गणेशमान सिंह र मंगलादेवीको बुहारी हो र प्रकाशमानको श्रीमती हो। यो कहीँ लुकाएर, छिपाएर हुने कुरा होइन,'उनले भनिन्।

आफूसँग बलियो राजनीतिक विरासत मात्रै नभएर आफ्नै योगदान पनि कम नभएको दाबी छ सिंहको। उनले प्रकाशमानको परिवारमा जोडिनुभन्दा पहिले पनि कांग्रेसको राजनीतिमा सक्रिय भएको बताइन।

'मैले प्रकाशमानलाई चिन्नुभन्दा अगाडि पनि राजनीतिक योगदान धेरै छ। मैले यो देशमा प्रजातन्त्र ल्याउन, महिलाहरुको उत्थान गर्न धेरै संघर्ष गरेकी छु। हनुमानढोकाको सिँडी धेरै कटाएकी छु। मैले बिहे गरेपछि पनि राजनीति छाडेकी छैन। राजनीतिमा कुनै पद भने लिएर बसेकी थिइन। किनभने मेरो घरमा सबैजना राजनीतिमा हुनुहुन्थ्यो। तर राजनीतिक रुपमा गर्नुपर्ने काम भातृ संगठन, महिला संघको काम गरिरहेकै थिएँ। म अहिले पनि ११औं महाधिवेशन र अहिले पनि महाधिवेशन प्रतिनिधि थिएँ। महिला संघमा पनि काठमाडौं जिल्लाको प्रमुख सल्लाहका भएर महिला दिदीबहिनीहरुको हक र सशक्तिकरणका लागि सधैं लागिपरेको थिएँ,' सिंहले भनिन्।

महिलाको एजेन्डा पनि उठाउने दाबी

महिलाका लागि के गर्नु हुन्छ? उनलाई सोधिकएको प्रश्न थियो। महिलाका विषयमा आफूले जस्तो कसैले काम नगर्ने दाबी छ सिंहको।

'महिला दिदीबहिनी पहिलो महिला मेयर पाउँदैछ भनेर एकदमै उत्साहित हुनुहुन्छ। यो तपाईंहरुले ३० गतेपछि पनि देखिहाल्नु हुन्छ,' उनले भनिन्।

अरु उम्मेदवारहरुका बाचा झुटो भएको जिकिर छ सिर्जनाको। आफूले उठाउने मुद्दा पूरा गरेरै छोडने बाचा गर्छिन् उनी।

'परिस्थिति बदलिएको छ। वहाँहरु झुटा कुरा गर्न माहिर हुनुहुन्छ। हामी नेपाली कांग्रेस गर्न नसक्ने कुरा गर्दैनौँ। कति ठूला ठूला नारा गर्नु भयो, केही पूरा गर्नु भयो त? सबै खुला किताब जस्तै त छ। महिलाको आधार मैले देखाएको हो। पार्टी र सिद्धान्त पनि हेर्नुपर्‍यो। सबै करा हेर्नुपर्‍यो। योगदान हेर्नुपर्‍यो। महिला भनेर जो पनि आएर हुँदैन,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell