PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कर्णालीमा टिकेन सत्ता गठबन्धनः कसको भागमा कुन पालिका?



पी बी खड्का

कर्णालीमा टिकेन सत्ता गठबन्धनः कसको भागमा कुन पालिका?

सुर्खेतः कर्णालीमा सत्तारुढ दलहरुबीच गठबन्धन भत्किएको छ। स्थानीय तहको निर्वाचनका लागि सोमबार गरेको मनोनयन दर्ताका लागि सत्तारुढ प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले आ-आफ्ना छुट्टाछुट्टै उम्मेदवार बनाएका छन्।

निर्वाचनमा तालमेल गर्ने सहमति अनुसार जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वले पनि पटक-पटक छलफल गरे पनि मनोनयनको अन्तिम घडीमा दलहरुले सुर्खेत र रुकुम पश्चिममा अलग-अलग उम्मेदवारी दर्ता गराएका छन्।

गठबन्धनभित्र अन्य ८ जिल्लामा निर्वाचनमा तालमेल गर्ने गरी सहमति गरे पनि रुकुम पश्चिममा र सुर्खेतमा सहमतिका लागि सोमबार २ बजेसम्म छलफल गरे पनि सहमति हुन नसकेपछि अपराह्न दलहरु छुट्टाछुट्टै उम्मेदवारसहित बाजागाजा र्‍याली लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

ठूला दलहरुले मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेर पुगेकै कारण मध्यरातसम्म मनोनयन दर्ताको काम हुने मुख्य निर्वाचन अधिकृत राजेन्द्रकुमार आचार्यको भनाई छ।

माओवादी केन्द्र पहिलो शक्ति, कांग्रेस दोस्रो

सत्तारुढ पाँच दलीय गठबन्धनबीच कर्णाली प्रदेशका आठ जिल्लामा चुनावी तालमेल गर्ने सहमति अनुसार सिट बाँडफाँट गरेका छन्। सुर्खेत र रुकुम पश्चिमबाहेक अन्य सवै जिल्लामा तालमेल गर्ने सहमति भएअनुसार नै उम्मेदवारी दर्ता गरेका छन्।

प्रदेश संयन्त्रले गरेको सहमति अनुसार माओवादी केन्द्र पहिलो शक्ति बनेको छ। कांग्रेस दोस्रो स्थानमा र एकीकृत समाजवादी तेस्रो स्थानमा चित्त बुझाएको छ।

सहमति अनुसार माओवादी केन्द्रले प्रदेशको २५ पालिका प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ। नेपाली कांग्रेसले २५ पालिका प्रमुख र २३ पालिका उपप्रमुख पाएको छ। त्यस्तै, एकीकृत समाजवादीले १३ पालिका प्रमुख र १६ वटा पालिकामा उपप्रमुख पाएको छ।

प्रदेश संयन्त्रले गरेको सहमति विपरीत कतिपय स्थानीय तहमा बागी उम्मेदवारी समेत दर्ता गराएका छन्।

वीरेन्द्रनगरको मेयरमा ६ जनाको उम्मेदवारी

प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ६ जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेसबाट वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का र उपमेयरमा रामकुमारी थापाले मनोनयन दर्ता गराएका छन्।

अन्य दलभन्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अघि पुगेको एमालेले तामझामका साथ मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनालले उम्मेदवारी दिएका छन्। ढकाल यसअघि उपमेयरमा समेत काम गरिसकेकी छिन्।

त्यस्तै, माओवादी केन्द्रले मेयरमा राजेन्द्र गिरी र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवारी दर्ता गराएका छन्। एकीकृत समाजवादीका तर्फबाट मेयरमा वीरबहादुर रावत र उपमेयरमा धना शाहीले उम्मेदवारी दिएका छन्।

राप्रपाले पनि मेयरमा केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी र उपमेयरमा लक्ष्मीकुमारी विकले उम्मेदवारी दिएका छन्।

स्वतन्त्रबाट पनि मेयरमा अनिल ढकाल र चिन्तामणि शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

वीरेन्द्रनगरमा जस्तै सुर्खेतका नौ वटै स्थानीय तहमा सत्तारुढ दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्।

सुर्खेतसहित कर्णालीका दश वटै जिल्लाहरुमा मनोनयन दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मनोयननको अन्तिम नामावली मंगलबार मात्रै सार्वजनिक गरिने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell