PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गठबन्धनमा मौलाउँदै परिवारवाद: माओवादीले कांग्रेसको लाइन पछ्याएको कि कांग्रेसले माओवादीको?



प्रकाश भण्डारी

गठबन्धनमा मौलाउँदै परिवारवाद: माओवादीले कांग्रेसको लाइन पछ्याएको कि कांग्रेसले माओवादीको?

काठमाडौँ: पछिल्लो सत्ता गठबन्धनमा स्थानीय तहको टिकट वितरणमा परिवारवाद हाबी भएको देखिएको छ। चितवनको भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले पुनः टिकट हत्याउनेदेखि काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले टिकट हत्याउन दुबै परिवारवादको प्रष्ट प्रमाण हो।

युद्ध छाडेर मूलधारको राजनीतिमा आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा परिवारवादलाई मौलाउन दिने एक पात्रका रुपमा हेरिन्छन्। प्रचण्डले छोरी रेनुलाई भरतपुरको मेयरमामात्रै जिताएनन् आफ्नी बुहारी वीना मगरलाई मन्त्री पनि बनाउन सफल भए।

हालै प्रचण्डका भाई पनि राष्ट्रिय सभाका सदस्य भएका छन्। चैत २५ गते सरकारको सिफारिसमा प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका हुन्। २०६४ मा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित दाहाल २०७० मा सोही क्षेत्रबाट पराजित भएका थिए।

यता सभामुख अग्निप्रसाद सापकोटा प्रचण्डपथमै छन्। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा आफ्ना सहोदर भाइ कृष्णप्रसाद सापकोटालाई टिकट पक्का गरेर उनले आफ्नो शक्ति देखाएका छन्। यसअघि अमनसिंह तामाङलाई टिकट दिने वचन दिए पनि कृष्णप्रसादलाई नै टिकट दिएपछि चौतारामा माओवादी माओवादीबीच नै झडप भयो। अहिले चौतारामा निर्वाचन आयोगको सुरक्षाका लागि सेना परिचालन गरिएको छ।

हरेक भाषणमा गणेशमानको त्यागको पाठ सिकाउने प्रकाशमान सिंहले पनि यसपटक यही नीति अनुसरण गरेका छन्। उनले काठमाडौंको मेयरको टिकट आफ्नी पत्नी सिर्जना सिंहको नाममा पक्का गरेर आफ्नै बोलीविरुद्ध लागेका हुन्। त्यसो त १४औँ महाधिवेशनमा पार्टी सभापतिमा शेरबहादुर देउवालाई सघाएबापत नै प्रकाशमानलाई यो पुरस्कार मिलेको हो भन्दा फरक नपर्ला। आफैँ उम्मेद्वारी दाबी गर्न नमिलेपछि प्रकाशमानले नेता कार्यकर्तामार्फत सिर्जनाको टिकट कन्फम गराउन आफ्नै घरमा डेलिगेसन बोलाएको जगजाहेरै छ। गणेशमानको लिगेसी बोकेर राजनीति गरेका प्रकाशमान पार्टीमा त्यति सफल नभएपछि सिर्जनातिर राजनीतिक भार थमाउने प्रयास भएको कतिपयको आरोप पनि छ।

कांग्रेसमा सल्किँदै परिवारवाद

नेपाली कांग्रेसमा पछिल्लोपटक परिवारवाद सल्किँदो छ। कांग्रेसका पुराना नेता अर्जुननरसिंह केसी र महामन्त्री गगन थापा ससुरा ज्वाईं हुन्। यद्यपि ज्वाईं ससुरा १३औँ महाधिवेशनमा एकै पद महामन्त्रीमा भिडेका थिए। गगन सिटौला समूहबाट महामन्त्रीमा उम्मेद्वार थिए भने केसी देउवा समूहबाट। उक्त महाधिवेशनमा दुबै जनाले हार व्योहर्नुपर्‍यो।

अहिले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राजनीतिमा सक्रिय हुन थालेकी छन्। कांग्रेस केन्द्रीय समिति सदस्यमा हालै निर्वाचित उनको कांग्रेसमा हरेक निर्णयमा हालीमुहाली रहने बताइन्छ। देउवापुत्र जयवीर पनि राजनीतिमा आउने तयारीमा थिए। यद्यपि तीव्र विरोधपछि उनले यसपटक राजनीतिमा हात हाल्न सकेनन्।

गृहमन्त्री बालकृष्ण खाणले यो महाधिवेनमा आफ्नो श्रीमती मञ्जु खाणलाई केन्द्रीय सदस्यमा निर्वाचित गराएका छन्। यसो त रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आफ्नो सहोदर भाइ रामकृष्ण खाणलाई गृहमन्त्रीले मेयरको टिकट दिलाए। सहमहामन्त्रीमा पराजित भए पनि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित मधु आचार्यकी श्रीमती कमला पन्त राष्ट्रिय सभामा निर्वाचित भएकी छन्। हुन त बीपी कोइरालाबाटै कांग्रेसमा परिवारवाद सुरु भएको मानिन्छ। तीन भाइ प्रधानमन्त्री हुँदा कांग्रेसमा धेरैले अझै पनि सभापति र प्रधानमन्त्रीलाई कोइराला परिवारकै निजी सम्पत्ति ठान्ने पनि छन्। गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई मन्त्रीसम्म बनाइदिए।

अहिले बीपीपुत्र डा शशांक कोइराला जबर्जस्त कांग्रेस राजनीतिमा छन्। १३ औं महाधिवेशनमा महामन्त्री बनेका शशांक देउवाको हालीमुहालीमै चुप लागेर बसेपछि अहिले डिमोसन भएर केन्द्रीय सदस्यमा झरेका छन्। महेन्द्रनारायणका छोरा विमलेन्द्र निधि पनि लिगेसी बोकेर राजनीति थालेका नेता हुन्।
गठबन्धनमा सल्किएको परिवारवादले जनता समाजवादीलाई पनि बाँकी राखेन। जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्र यादव पनि बुवाको साथ पाएर स्थानीय निर्वाचनमा होमिएका छन्। उनी गठबन्धनबाट सिट पक्का गरेर विराटनगरको उपमेयरका उम्मेदवार बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell