
काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत मुस्ताङको ६ वटा वडामा एकल उम्मेदवारी परेको छ। लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन-तीन वटा वडामा निर्विरोध उम्मेदवारी परेको हो।
लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको जानकारी दिए। वडा १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल उम्मेदवारी परेको छ। वडा ३ को अध्यक्षमा एमालेका झ्याब्याङ तेञ्जिङ गुरुङसहित दुई सदस्य र नेपाली कांग्रेसबाट एक सदस्य निर्विरोध भएका छन्। वडा ४ को अध्यक्षमा एमालेका झियानछुसाङ गुरुङको मात्र उम्मेदवारी दर्ता भएको छ।
लोघेकरको वडा २ र ५ मा कांग्रेस र एमालेले सबै पदमा मनोनयन दर्ता गरेका छन्। चारवटा वडामा दलित महिला सदस्यमा उम्मेदवारी परेको छैन।
घरपझोङ गाउँपालिका-१ मा कांग्रेसका आशबहादुर थकाली र २ मा कांग्रेसका मानबहादुर हिराचनको एकल उम्मेदवारी परेको छ। घरपझोङको वडा नं ५ मा एमालेका प्रदीप थकालीको एकल उम्मेदवारी परेको छ। निर्वाचन आयोगले दाबी-विरोधलगायत प्रक्रिया पूरा भएपछि मात्र एकल उम्मेदवारी परेको ठाउँमा निर्विरोध घोषणा गर्ने जनाएको छ। घरपझोङको १, २ र ५ मा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राप्रपाबीच तालमेल भएको हो।