PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

ठाउँठाउँमा विप्लव कार्यकर्ताको उम्मेदवारी, फिर्ता लिन असन्तुष्ट पक्षको अपिल



पहिलोपोस्ट

ठाउँठाउँमा विप्लव कार्यकर्ताको उम्मेदवारी, फिर्ता लिन असन्तुष्ट पक्षको अपिल
उम्मेदवारी दर्ता गराएका केन्द्रीय सदस्य चुडामणि वली।

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कतिपय स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। यसरी पार्टीका कार्यकर्ताहरुले नै उम्मेदवारी दर्ता गरेसँगै पार्टीभित्र विवाद झन् चुलिन थालेको छ। 

महासचिव विप्लव र सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले कार्यकर्ताहरुलाई उम्मेदवारी दर्ता गराउन भित्री रुपमा अनुमति दिए पनि पार्टीका अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले तत्काल उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्। 

बास्तोलाले  वक्तव्य जारी गरी पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएको भन्दै त्यसलाई स्मरण गराएका छन्। 

कतिपय स्थानमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी नै उम्मेदवार बनेको पाइएकाले तत्काल मनोनयन फिर्ता लिन उनले आह्वान गरिएको छ। 

कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यही वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णय अनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भए बमोजिम पार्टीले चुनाव उपयोग नगर्ने नीतिको तात्पर्य स्वाभाविक रूपले न्यूनतम् मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरीत कतिपय कमरेडहरूले विभित्र पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक रूपमा प्रकाशित भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीति विपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ।’

विप्लव नेतृत्वको नेकपाका कार्यकतर्ताहरुले कालीकोट, रोल्पा, रुकुम, बझाङ, पाल्पा, रुपन्देही र इलामका केही स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका छन्।  

रोल्पाको गंगादेव गाउँपालिकामा पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले नै अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। त्यहाँ उनले पाँच वटा वडामा समेत उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा नेता पुष्टमन घर्तीले अध्यक्षमा उम्मेदवारी दिएका छन्। त्यहाँ उनलाई एमाले र कांग्रेसले समर्थन गरेको छ। सुनछहरीको उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। ७ वडा रहेको गाउँपालिकामा एमाले र कांग्रेसले तीन/तीन वडा र १ वडामा विप्लवका नेताले उम्मेदवारी दर्ता गरेका छन्। 

त्यस्तै, पाल्पाको तिनाहुँ गाउँपालिकामा सो पार्टीका जिल्ला कमिटीका निवर्तमान सचिव भुवन जिसीले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। उनले त्यहाँका सबै वडामा विप्लव कार्यकर्ताहरुलाई स्वतन्त्र रुपमा वडा अध्यक्षमा उठाएका छन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडामा पनि विप्लव निकट शिक्षक संगठनका नेताले उम्मेदवारी दर्ता गराएका छन्। 

त्यस्तै, कालीकोटमा पार्टीका तर्फबाट उम्मेदवार उठाउनका लागि प्रकाण्ड केही दिन अगाडि मात्र त्यहाँ पुगेका थिए। 

त्यहाँको सानी त्रिवेणी गाउँपालिकामा विप्लवका नेता व्यासी लुहार (आइटम)ले अध्यक्षमा र बबिता लुहारले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षमा लुहार विरुद्ध नेकपाका रुपसिंह बोहराले पनि उम्मेदवारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell