
इलोन मस्कले ट्वीटर खरिद गरेसँगै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवालको पद धरापमा परेको छ। विभिन्न संचारमाध्यमहरुमा मस्कको स्वामित्वसँगै ट्वीटरमा अग्रवालको पद के हुने भन्ने बहस चलेको छ। विशेषगरी भारतीय सञ्चारमाध्यमले यसमा चासो लिएका छन्। पराग भारतीय मूलका अमेरिकी नागरिक हुन्।
अग्रवालले ट्वीट गर्दै मस्कको नेतृत्वमा ट्वीटरको भविष्य नै अन्धकार भएको टिप्पणी गरेका छन्। अब ट्वीटर कुन दिशातर्फ अघि बढ्छ भन्ने यकिन जानकारी नभएको भाव प्रकट गर्नुले उनी पदमै निरन्तर रहिरहनेमा प्रश्न उठेको हो।
हटाए दिनुपर्छ सवा ५ अर्ब
ट्वीटरको सीईओको रूपमा अग्रवालले गत नोभेम्बरदेखि कार्यभार सम्हालेका हुन्। उनलाई १२ महिनाभन्दा अघि नै पदबाट हटाएको खण्डमा कम्पनीले ४ करोड २० लाख अमेरिकी डलर (पाँच अर्ब १४ करोड रुपैयाँ) दिनुपर्ने सम्झौतामा उल्लेख भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
उनी ट्वीटरको सीईओ नियुक्त भएको जम्मा पाँच महिना हुँदैछ। नोभेम्बरमा ज्याक डोर्सीले राजीनामा दिएपछि उनी सीईओ नियुक्त भएका हुन्।
ट्वीटर बिक्रीपछि के भने परागले?
मस्कले ट्वीटर खरिद गरेपछि पराग अग्रवालले आफ्नो वक्तव्य सार्वजनिक गरेका छन्। ‘ट्वीटर विश्वभरी नै प्रभावकारी माध्यम हो। मलाई आफ्नो टिम प्रति गर्व छ,’ अग्रवालले भनेका छन्।
उनी १० वर्षदेखि ट्वीटरसँग आबद्ध छन्। सीईओमा नियुक्त हुनुअघि उनी प्रमुख प्राविधिक अधिकृत थिए। ट्वीटरले २०१८ मा उनलाई प्रमुख प्राविधिक अधिकृत बनाएको थियो। ट्वीटरमा आउनु अघि उनी माइक्रोसफ्ट रिसर्च र याहुमा आबद्ध थिए।
आइआइटी बम्बईसँगै अग्रवाल विश्वप्रसिद्ध स्ट्यान्फोर्ड विश्वविद्यालयका अलुम्नस हुन्।
Twitter has a purpose and relevance that impacts the entire world. Deeply proud of our teams and inspired by the work that has never been more important. https://t.co/5iNTtJoEHf
— Parag Agrawal (@paraga) April 25, 2022
सन् २००६ मा डोर्सीले तीनजना साथीहरुसँग मिलेर ट्वीटर निर्माण गरेका थिए। अहिलेसम्म ट्वीटरको सीईओका रूपमा पराग अघि ज्याक डोर्सी, एवान विलियन्स र डिक कोस्टलोले काम गरेका थिए।
मस्कले दुई चरणमा ट्वीटरको सेयर खरिद गरेका छन्। पहिलोपटक ट्वीटरको ९.२ प्रतिशत सेयर मस्कले गत चैत २१ मा खरिद गरेका थिए। टेस्लाका प्रमुख कार्यकारी अधिकृतले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका थिए। त्यसपछि मस्कले ट्वीटरको बाँकी सबै सेयर ४४ अर्ब डलरमा खरिद गरेका हुन्।