हलिउड अभिनेता जोनी डेप र उनकी पूर्व श्रीमती एम्बर हर्डबिच अहिले अदालतमा मुद्दा मामिला चलिरहेको छ। डेपले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए। अहिले विश्वका मिडियाहरु नै यस मुद्दामा केन्द्रीत भएका छन्।
सो मुद्दामा डेपले सोमवार भर्जिनियाको फेयरफ्याक्स अदालतमा आफ्नो बयान दिएका छन्।
बहसको चौथो दिनमा डेपलाई हर्डका वकिल बेन रोटेनबोर्नले ‘क्रस-चेक’ गरेका थिए। डेपलाई हर्डसँग विवाद हुँदाको अडियो रेकर्डिङबारे सोधिएको थियो। डेपको रक्सीको दुर्व्यसनबाट समस्या हुने हर्ड मात्र एक्ली व्यक्ति थिइन कि भन्ने प्रश्न उनीमाथि तेर्साइएको थियो।
जसको जवाफमा डेपले भनेका छन्, ‘सर, यदि कसैलाई जीवनको कुनै पनि क्षणमा मेरो पिउने बानीले समस्या पारेको थियो भने त्यो मै हुँ। मैले मेरो जीवनमा दुर्व्यवहार गरेको एक मात्र व्यक्ति भनेको म आफै हुँ।’
हर्डले २०१८ मा आफूलाई ‘घरेलु हिंसाको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व’ भनेर वर्णन गर्दै द वासिङटन पोस्टको लागि एउटा ओप-एड लेखेकी थिइन्। सोही ओप-एडको लागि डेपले हर्डविरुद्ध ५० मिलियन डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका थिए।
सो ओप-एडमा डेपको नाम उल्लेख गरिएको छैन। तर पनि यसले उनको एक्टिङ करियरमा क्षति पुगेको डेपको आरोप छ।
२०१५ मा विवाह बन्धनमा बाँधिएका हर्ड र डेप २०१६ मा छुट्टिएका थिए। दुवैले एक अर्कालाई वैवाहिक सम्बन्धका दौरान शारिरीक हिंसा गरेको आरोप लगाएका छन्। त्यस्तै, दुवै जनाले एक अर्को आरोप अस्वीकार पनि गरिरहेका छन्।
२०१६ को अगस्टमा यो जोडीले सम्बन्ध विच्छेद गरेका थिए। सो क्रममा उनीहरुले एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘हाम्रो सम्बन्ध निकै पेसोनेट तर कहिलेकाहीँ अस्थिर थियो, तर यो सधैँ प्रेमले बाँधिएको थियो।’
अप्रिल ११ मा सुरु भएको बहस छ हप्तासम्म चल्ने छ। हर्डले भने हालसम्म बयान दिएकी छैनन्।
हाल सामाजिक संजालमा डेपको पक्षमा वकालत भइरहेको छ। ट्वीटरमा जस्टिस फर डेप ट्रेन्डिङमा छ।