PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

बुटवलको मेयरमा १७ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार?



पहिलोपोस्ट

बुटवलको मेयरमा १७ जनाको उम्मेदवारी, को-को छन् उम्मेदवार?
फाइल फोटो।

बुटवल : आसन्न स्थानीय तह निर्वाचनका लागि रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदका लागि १७ जनाको उम्मेदवारी परेको छ।

मेयरमा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायत ८ राजनीतिक दल र ७ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको हो।

को-को छन् मेयरका उम्मेदवार?
१. बाबुराम भट्टराई (नेकपा एमाले)
२. खेलराज पाण्डेय (नेपाली कांग्रेस)
३. मृगेन्द्रकुमार शेरचन (राष्ट्रिय प्रजातन्त्र पार्टी)
४. हरि सुन्दर बासी (नेपाल मजदुर किसान पार्टी)
५. कृष्णप्रसाद पोख्रेल (राष्ट्रिय जनमोर्चा)
६. सुरज हितान (जसपा नेपाल) 
७. वीरबहादुर सुनार (नेपाल दलित पार्टी)
८. खिमबहादुर थापा (मंगोल नेशनल अर्गनाइजेसन) 
९. धनेन्द्र क्षेत्री (स्वतन्त्र)
१०. गिरीप्रसाद न्यौपाने (स्वतन्त्र)
११. कृष्णप्रसाद घिमिरे (स्वतन्त्र)
१२. शम्मु गुरुङ्ग (स्वतन्त्र)
१३. डिल्लिप्रसाद पाध्या (स्वतन्त्र)
१४. रुद्रप्रसाद शर्मा (स्वतन्त्र)
१५. मिनबहादुर कार्की (स्वतन्त्र)
१६. जसमीन पौडेल (स्वतन्त्र)
१७. भगवती गैरे (स्वतन्त्र)

बुटवल उपमहानगरमा यसपटक पनि एमाले र नेपाली कांग्रेसबिचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ कांग्रेसलाई सत्ता गठबन्धनका अन्य दलहरुले सहयोग गर्ने भएका छन्।

तर, जसपाले मेयर र उपमेयरमा आफ्नै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई चुनौती थपिएको छ। एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग मिलेर निर्वाचनमा जाने भएको छ।

बुटवलमा २०७४ स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरको मेयरमा एमालेबाट शिवराज सुवेदी विजयी भएका थिए। कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो।

त्यतिबेला पनि कांग्रेसबाट खेलराज पाण्डे नै उम्मेदवार थिए। सुवेदीले पाण्डेलाई दुई हजार तीन सय ९८ मतान्तरले पराजित गरेका थिए।

बुटवलमा २०७४ सालको निर्वाचनयता २४ हजारभन्दा बढी मतदाता थपिएका छन्। ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ।

यसपटकको निर्वाचनमा बुटवलमा ९० हजार ६५ मतदाता रहेका छन्। बुटवल उपमहानगरपालिकामा २०५४ सालदेखि एमालेले निरन्तर नेतृत्व गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell