PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

गठबन्धनको सकस : अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष उम्मेदवार



पहिलोपोस्ट

गठबन्धनको सकस : अधिकांश पालिकामा पुरुष नै उपप्रमुख-उपाध्यक्ष उम्मेदवार

काठमाडौं : सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख-उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ।

जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख-उपाध्यक्षको उम्मेदवार बनाएको हो। दलबाट उम्मेदवारी दर्ता गराउनुपर्दा प्रमुख र उपप्रमुखमा एक महिला अनिवार्य हुनुपर्छ। तर, गठबन्धनबाट उम्मेदवारी दर्ता गराउँदा सो प्रावधान लागू नहुने भएपछि पुरुषले नै अवसर पाएको हो। 

गठबन्धनका कारण महिला प्रतिनिधित्व घट्ने अनुमान यसअघि नै गरिएको थियो। गठबन्धनको निर्णयका कारण महिला उम्मेदवारहरु असन्तुष्ट छन्।

खासगरी गत निर्वाचनमा झन्डै ९८ प्रतिशत महिला नगर उपप्रमुख वा गाउँपालिकाका उपाध्यक्षका रुपमा निर्वाचित भएकामा आगामी निर्वाचनमा त्यो घट्ने सङ्केत देखिएको हो । गठबन्धनका कारण अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार फरक फरक दलका छन् । जसका कारण अधिकांश स्थानीय तहमा दुवै पदमा पुरुष नै रहेको पाइन्छ । एउटै दलले प्रमुख र उपप्रमुख पदमा फरक लिङ्गको हुनुपर्ने व्यवस्था भए पनि फरक दलको हुँदा त्यो बाध्यकारी छैन । संविधानले अनिवार्य गरेका वडा सदस्य पदबाहेक महिलालाई कम मात्रै अवसर पाएको देखिएको छ । वडाध्यक्षमा राष्ट्रिय दलहरुले थोरै सङ्ख्यामा मात्रै महिलालाई अवसर दिएको पाइएको छ ।

नेपाली कांग्रेसले झापा १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख-उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबिच भएको थियो। सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुख-उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको छ।

गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोडमा सिपी कँडेल, भद्रपुरमा शिवराज भण्डारी, गौरादहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकामा जिनेश योञ्जन र बाह्रदशीमा शङ्कर सेढाईं, कमलमा पर्शु सुवेदी, बुद्धशान्तिमा खड्ग तिम्सिना, गौरीगञ्जमा अमन राजवंशीलाई उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी झापा गाउँपालिकामा मुनावती गणेश उपाध्यक्षमा र दमक नगरपालिकामा रेगिना उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने व्यवस्था संविधानमै उल्लेख छ। हल्दिवारी र कचनकवल गाउँपालिका तथा कनकाई नगरपालिकामा गठबन्धनमा सहमति नभएपछि दुवै दलले उपप्रमुख-उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell