काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत यही वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा अधिकांश स्थानबाट दर्ताको विवरण निर्वाचन आयोगको सूचना प्रणालीमा समावेश भइरहेको छ। आज दिउँसो ३:१५ सम्मको अपडेट अनुसार १ लाख ४७ हजारभन्दा बढीले आइतवार र सोमबार उम्मेदवारी दर्ता गराएको विवरण आयोगले सार्वजनिक गरेको हो।
केही स्थानबाट विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ ।
मधेz प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशका दुई जिल्लाका केही पालिकाको विवरण आउन बाँकी रहेको आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले जनाएको छ।
बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाई गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाइ, लहान र कर्जनाह, दाङको लमही नगरपालिका, सुर्खेतको वीेरेन्द्रनगर नगरपालिका र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्राप्त हुन बाँकी छ।