
काठमाडौं : काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतका पदमा २६५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
आइतबार र सोमबार सम्पन्न मनोनयनमा प्रमुख राजनीतिक सहित साना राजनीतिक दललगायत स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन कार्यालय पनौतीले जनाएको छ।
उम्मेदवारमध्येमा नगर प्रमुख पदको लागि मात्रै ११ को उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत गोविन्दप्रसाद घिमिरेले बताए। उनका अनुसार गठबन्धन दलबाट प्रमुख पदमा नेपाली कांग्रेसका रामशरण भण्डारीले उम्मेदवार दर्ता गराएका छन भने नेकपा (एमाले)को तर्फबाट भीम न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। न्यौपाने निवर्तमान नगर प्रमुख हुन्।
त्यस्तै नेकपा मालेबाट गणेशकुमार कपाली, भरत आचार्यले नेपाल सुशासन पार्टीबाट, भूषणकुमार श्रेष्ठले विवेकशील साझा पार्टीबाट, राजेन्द्र थापाले उन्नत लोकतन्त्र पार्टीबाट, विजय तामाङले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट, शिवराम बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट तथा स्वतन्त्र रुपमा सीताराम हुमागाईं, शम्भू राउत र विजयराम कर्माचार्यले मनोनयन दर्ता गराएका छन्।
उपप्रमुखमा भने ३ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट उपप्रमुखमा एकीकृत समाजवादीका छविलाल हुमागार्इं तथा एमालेबाट गीता बञ्जाराले मनोनयन दर्ता गराएका छन्। बञ्जारा निवर्तमान उपप्रमुख हुन्।
त्यस्तै कल्पना घिमिरे श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुखमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
नगरको १२ वडामा ६१ ले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।