बुटवलः पाल्पाको पूर्वखोला गाउँपालिकामा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन्।
नेकपा (एमाले) बाट वडा नम्बर २ मा भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गले मात्र मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन्।
एकल उम्मेदवारी परेकाले दुबै जना निर्विरोध निर्वाचित भएको अधिकृत खनालले बताइन्।
पूर्वखोलामा अध्यक्षका लागि ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गरेका छन्। एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का मीनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेशनका मोहन सिंह सारु र जनता समाजवादी पार्टी नेपालका विपीनकुमार सारुले मनोनयन दर्ता गराएका छन्।
उपाध्यक्षमा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।