PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हेटौँडामा विरासत जोगाउने दौडमा एमालेः दुई पूर्वसहयात्रीको प्रतिस्पर्धा, अनन्त र मीनामा कसको पल्ला भारी?



निशा गुरुङ

हेटौँडामा विरासत जोगाउने दौडमा एमालेः दुई पूर्वसहयात्रीको प्रतिस्पर्धा, अनन्त र मीनामा कसको पल्ला भारी?

हेटौँडाः वाग्मती प्रदेशको राजधानी हेटौँडालाई पनि अहिले चुनावी माहोलले छोपेको छ। मनोनयन दर्ता सकिएसँगै विशेषगरि उपमहानगरपालिकाको चुनावी गर्मीले सत्ता गठबन्धन र विपक्षी दल दुबैलाई तताएको छ। हेटौँडा उपमहानगरमा नेकपा (एमाले) आफ्नो विसारत जोगाउने दौडमा छ। सत्ता गठबन्धन एमालेलाई हराउने अभियानमा छ।

उपमहानगर प्रमुखमा एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन्। पौडेल संविधानसभा सदस्य पनि हुन्। सत्ता गठबन्धनबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी) की नेतृ मीनाकुमारी लामाले उम्मेद्वारी दिएकी छिन्। लामा यसअघि ०७४ मा एमालेबाटै निर्वाचित उपमेयर हुन्। दल विभाजनपछि समाजवादीमा लागेकी हुन्।

को हुन अनन्त पौडेल? 

२०३५ सालदेखि राजनीतिमा सक्रिय पौडेलले अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। २०३८ सालमा उनी अनेरास्ववियु मकवानपुरका कोषाध्यक्ष बनेका थिए। २०४० मा अनेरास्ववियु जिल्ला अध्यक्ष हुँदै २०४१ सालमा अनेरास्ववियु नारायणी अञ्चलको सहसचिव भएका थिए।

२०४३ सालमा नेकपा (माले) मा संगठित हुँदै उनले २०४३ मा पार्टीको हेटौंडा नगर कमिटी सचिवको जिम्मेवारी पाएका थिए। २०४४ सालमा मालेको जिल्ला कमिटी सदस्य भएका थिए।

२०४७ मा नेकपा (एमाले) को जिल्ला सचिवको जिम्मेवारी पाएका थिए। पौडेल २०५४ सालमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका थिए।

२०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका पौडेल २०७० सालमा निर्वाचित भएका थिए। केही समय उनले पार्टीको प्रदेश संगठन विभाग प्रमुखको भूमिका पनि निर्वाह गरेका थिए। पौडेल हाल पार्टीको केन्द्रीय निर्वाचन विभाग सदस्य हुन्।

को हुन् मीना?

उपमहानगरको प्रमुख पदमा उम्मेद्वारी दिएका मीना २०७४ मा एमालेबाटै निर्वाचित उपप्रमुख हुन्। एमाले विभाजित हुँदा मीनाले  एकीकृत समाजवादी रोजेकी थिइन्।

मीनाले २०४६ सालदेखि नै विद्यार्थी राजनीति सुरु गरेकी हुन्। मीना २०५२ सालमा अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष र २०७१ सालमा एमाले मकवानपुरको उपसचिवमा निर्वाचित भएकी थिइन्।

पार्टीमा उनले विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गरेकी छन्। उनी २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भइन्। २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यसमेत भएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष पनि भइसकेकी छन्।

दुबै उम्मेदवारलाई कांग्रेसकै भर

२०७४ को चुनावी परिणामअनुसार एमाले हेटौंडा उपमहानरमा बलियो नै देखिन्छ। उक्त निर्वाचनमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। तर एमाले विजयी भएको थियो।

अहिले परिस्थिति थप फरक छ। विगतको गठबन्धन यथावत छ। एमाले विभाजन भएर एकीकृत समाजवादीको उदय भएको छ। एमालेसँगको प्रतिस्पर्धामा गठबन्धनले समाजवादीकै उम्मेदवार अघि सारेको छ।

०७४ मा एमालेबाट हरिबहादुर महतले २३ हजार १२४ मत ल्याउँदै प्रमुखमा जित हात पारेका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए।

उपमहानगरका १९ वडामध्ये एमालेले १२ वटामा जित हात पारेको थियो। कांग्रेसले ५ वटा वडामा र माओवादी केन्द्रले २ वटा वडा जितेको थियो।

मत समीकरण अनुसार योपटक भने एमाले र समाजवादी दुबैको भर र डर कांग्रेसकै मतादाता छन्। एमाले कांग्रेसको समेत मत तानेर जित्ने दाउमा हुनेछ। समाजवादी पनि गठबन्धनको सबै भोट एकत्रित गरेर जित्ने लक्ष्यमा छ। दुबै उम्मेदवारका लागि कांग्रेसका मतदाता डर र भर बनेका छन्।

गठबन्धनतर्फबाट मेयरकी आकांक्षी मीनाले २०७४ को निर्वाचनमा माओवादी केन्द्रका बलराम बललाई हराउँदै जित हात पारेकी थिइन्। लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत पाएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत पाएर तेस्रो बनेकी थिइन्।

मीनालाई पनि जितका लागि कांग्रेसको मत नै निर्णायक देखिन्छ। तर, कांग्रेस कार्यकर्ता हेटौँडाको मेयर समाजवादीलाई दिएकोमा खुसी भने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell