
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले मड्रिडमाथि ४-३ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो।
खेलको दोस्रो मिनेटमै रियाद महरेजको पासमा केभिन डी ब्रुइनले हेडिङमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ११ औं मिनेटमा फेरि डी ब्रुइनको पासमा गाब्रियल जिससले सिटीका लागि गोल थपे। उता मड्रिडका लागि फेरल्याण्ड मेन्डीको पासमा करिम बेन्जेमाले ३३ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा सिटी २-१ गोल अन्तरले जित निकाल्यो।
खेलको ५३ औं मिनेटमा सिटीका फिल फोडेनले फर्नान्डिन्होको पासमा गोल गर्दै गोल अन्तर बढाए। तर, त्यसको दुई मिनेट नबित्दै मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै टोलीलाई खेलमा फर्काउन चाहे। ७४ औ मिनेटमा बर्नान्डो सिल्भाले सिटीका लागि फेरि गोल थप्दै सिटीलाई जिततर्फ अग्रसर गराए। ८२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल त गरे तर उनको यो गोल मड्रिडलाई खेलमा फर्काउन पर्याप्त रहेन। र, सिटीले ४-३ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
यी दुई टोली सेमिफाइनलको दोस्रो लेगको खेलमा मे ५ मा मड्रिडको घरेलु मैदानमा आमनेसामने हुनेछन्।