
काठमाडौं : चलनचल्तीमा रहेको नोट बैंकिङ प्रणालीमा फर्किन थालेको छ। दुई महिनायता प्रणालीमा पैसा फर्किन थालेको हो।
माघमा ६ खर्ब ३१ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ बराबरको नगद नोट चलनचल्तीमा थिए। ती पैसामध्ये फागुनमा एक अर्ब १४ करोड ३ लाख रुपैयाँ फर्किएको थियो।
चैतमा एकै महिनामा ११ अर्ब २४ करोड ९२ लाख रुपैयाँ फर्किएको छ। अहिले चलनचल्तीमा ६ खर्ब १९ अर्ब ६० करोड ८३ लाख रुपैयाँ बराबरको नोट चलनचल्तीमा छ।
चलनचल्तीको अर्थमा सर्वसाधारणको हातहातमा रहेको पैसा हो। बैंक तथा वित्तीय संस्थामा रहेको पैसालाई चलनचल्तीमा गणना गरिँदैन। सहकारी संस्थामा रहेको पैसालाई भने चलनचल्तीमा रहेको रूपमा बुझिन्छ।
बैंकहरुले ब्याज बढाएर अनौपचारिक क्षेत्रको पैसा तानेको अर्थमा यसलाई बुझ्न सकिए पनि तथ्यांकले यसलाई पुष्टि गर्दैन। चैतमा निक्षेप बढ्ने होइन उल्टो घटेको छ।
जानकारहरुका अनुसार, आयातमा गरिएको कडाइले हुन्डी थोरै भए पनि नियन्त्रण भएको छ। न्यून बिजकीकरण गरेर सामान ल्याउन आयात नियन्त्रणले रोकेको छ। यसले गर्दा छरिएको पैसा प्रणालीमा भित्रिएको हो।