PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

अब यी मोडलका स्मार्टफोन नेपालमा भित्रिने छैनन्



पहिलोपोस्ट

अब यी मोडलका स्मार्टफोन नेपालमा भित्रिने छैनन्
Photo : CNN

काठमाडौं : सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट आयातमा प्रतिबन्ध लगाएसँगै चर्चित कम्पनीका दुई दर्जनभन्दा बढी सेट नेपाल नभित्रिने भएको छ। सरकारले २०७९ असार मसान्तसम्म प्रिमियम स्मार्टफोनहरुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।

यसको सबैभन्दा ठूलो मार एप्पललाई पर्ने देखिएको छ। बुधबारको विनिमयदर अनुसार एक अमेरिकी डलरबराबर १२२.८४ रुपैयाँ छ। ६०० अमेरिकी डलरबराबर नेपाली मुद्रा ७३ हजार ७०४ रुपैयाँ हुन्छ।

सरकारको पछिल्लो निर्णय अनुसार एप्पलले नेपालमा बिक्री गर्ने सबै सेट आयात रोकिने देखिन्छ। एप्पलका विभिन्न सातवटा मोडलका १९ वटा सेट ७३ हजार रुपैयाँ माथि रहेकाले आयात पूर्ण रुपमा रोकिनेछ।

एप्पलको आइफोन १३ प्रो म्याक्स, १३ प्रो, १३, १३ मिनि, १२, ११, एसइ (२०२२) को आयात रोकिने भएको हो। यी सेटहरुको मूल्य न्यूनतम ८७ हजार रुपैयाँदेखि अधिकतम दुई लाख ७८ हजार रुपैयाँ पर्छ।

एप्पलले बिक्री गर्ने केही सेटहरु बजारमा भए पनि केही आउट अफ स्टक रहेको कम्पनीले जनाएको छ। यस्तै, एप्पल पछि मोबाइल सेट आयात प्रतिबन्धको असर सामसङलाई पर्ने देखिन्छ। सामसङका ६ वटा विभिन्न फ्ल्यागशीप स्मार्टफोनका आठवटा भेरियन्टहरु ७३ हजार रुपैयाँ माथि पर्छन्।

सामसङको ग्यालेक्सी जी फोल्ड थ्री फाइभजी, जी फ्लिप थ्री फाइभजी, एस२१ एफइ फाइभजी, एस२२, एस२२ प्लस र एस२२ अल्ट्राको आयात रोकिने छ। यी प्रिमियम सेटहरुको मूल्य न्यूनतम ९० हजार रुपैयाँदेखि दुई लाख ३० हजार रुपैयाँसम्म पर्ने सामसङले जनाएको छ।

त्यसैगरि, सरकारी प्रतिबन्धको असर चिनियाँ स्मार्टफोन ब्राण्ड हुवावेका फ्लागशीप फोनमा बढी पर्ने देखिन्छ। हुवावेका सातवटा मोडलहरु ७३ हजार रुपैयाँ माथिका छन्। हुवावेका पी ३०, पी २० प्रो, पी ३० प्रो, मेट २० प्रो, मेट ३० प्रो, पी ४० प्रो र मेटप्याड प्रो १०.८ (२०२१) को आयातमा प्रतिबन्ध लागेको छ।

यी सेटहरुको मूल्य ८५ हजार रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्म पर्ने हुवावेले जनाएको छ।

यस्तै, वानप्लसका चारवटा स्मार्टफोन मोडलहरुको आयात रोकिने भएको छ। वानप्लसको एटटी, नाइन, नाइन प्रो र टेन प्रो ७३ हजार रुपैयाँ माथिका स्मार्टफोन हुन्। जसको मूल्य नेपाली बजारमा ७९ हजार रुपैयाँदेखि एक लाख ३५ हजार रुपैयाँसम्म पर्ने वानप्लसले जनाएको छ।

त्यसैगरी, साओमीका पनि तीनवटा प्रिमियम स्मार्टफोन मोडलका चारवटा भेरियन्टको आयात रोकिने भएको छ। साओमी १२ प्रो, साओमी १२ र साओमी १२ एक्स कम्पनीका प्रिमियममध्येका फोन हुन्, जसको आयातमा बन्देज लागेको छ।

यी स्मार्टफोनहरुको मूल्य ७७ हजार रुपैयाँदेखि एक लाख १५ हजार रुपैयाँसम्म पर्ने साओमीले जनाएको छ। नेपाली बजारमा बिक्री हुने अन्य स्मार्टफोन ब्राण्डहरु पोको, रियलमी, नोकियासहितलाई भने प्रतिबन्धले खासै असर नपर्ने देखिन्छ।

यी कम्पनीहरुले बार फोन, इन्ट्री लेभल स्मार्टफोनदेखि मिड रेन्ज स्मार्टफोन बिक्री गर्दै आएका छन्।

नेपाल राष्ट्र बैंकले गत चैत २१ गते बैंकहरुलाई मौखिक निर्देशन दिएर तीन सयवटा वस्तुको आयात रोक्न प्रतितपत्र नखोल्न निर्देशन दिएको थियो। उक्त निर्देशनलाई औपचारिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राजपत्रमा सूचना जारी गर्दै ६०० डलर माथिका मोबाइल सेट आयातमा पूर्ण बन्देज लगाएको थियो।

सरकारले आयात प्रतिबन्ध लगाएका वस्तुहरु वैशाख १३ गतेसम्म प्रतितपत्र खुलेको हकमा रोकिने छैन। त्यसपछि खुलेका रहेछन् भने मात्रै रोकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell