काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले गठबन्धनको विरोध गरेर आफै सारथी खोज्दै हिँडेको बताएका छन्।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा आयोजित स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले नेता कार्यकर्ताहरु गठबन्धन बैठकको निर्णण कुरेर बसिरहेको समेत बताए।
‘क्विन्टल भन्नेले पाउ छटक खोजिरहेका छन्। भ्याएसम्म परिवार दलसम्म विप्लवदेखि सिके राउतसम्म,’ थापाले भने, ‘गठबन्धनको बैठकको ढोकामा ढुकिरहेको हुन्छ एमाले नेता कार्याकर्ता। बिग्रन्छ कि उनीहरुले उपमेयर दिए हामी मेयर नै दिन्छौ भनेर।’
नेपाली कांग्रेसको घोषणापत्रलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्को आलोचना गरेपछि कांग्रेसका नेताहरु पनि एमालेको आलोचनामा उत्रिएका छन्। एमालेको घोषणापत्रलाई नै कांग्रेसले स्वीकारेको ओलीको आरोप थियो। सत्ता गठबन्धनकोबारे पनि ओलीले आलोचना गरेपछि थापाले एमालेले पनि गठबन्धनका लागि राप्रपा र राप्रपा नेपालसँग हात मिलाएको बताएका हुन्।