काठमाडौं : बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ। जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि एकल उम्मेदवारी परेको हो।
नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीबाट वडा अध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका-१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको हो।
लामा नेपाली कांग्रेसबाट वडा अध्यका उम्मेदवार हुन् भने तामाङ स्वतन्त्र उम्मेदवार हुन्।
दरखास्त फारम माथिको छानबिन गर्ने कार्यतालिका अनुसारको समय र दाबी विरोधको कार्यक्रम बाँकी रहेको कारण बैशाख १५ गतेपछि मात्र उनीहरुलाई निर्विरोध निर्वाचितको बारेमा जानकारी गरिने निर्वाचन आयोगले जनाएको छ।
लिमिकै वडा महिला सदस्यमा कुन्ज्योकबुटी लामा, खुल्ला सदस्यमा छिरिङतन्डुप तामाङ र तुण्डुप तामाङको पनि एकल उम्मेदवारी परेको छ। सिमकोट–१ को दलित महिला सदस्यमा कांग्रेसका नानी कोइला सुनारको एकल उम्मेदवारी परेको छ।