
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवाले महिलाहरुको उजुरी हेर्ने छुट्टै सरकारी निकाय जिल्ला जिल्लामा हुनुपर्ने बताएकी छिन्।
बुधबार ललितपुरमा आयोजित ‘घरेलु हिंसा कानुन कार्यान्वयनको अवस्था’ विषयक छलफल कार्यक्रममा उनले महिला विकास कार्यालय जिल्लाजिल्लामा नहुँदा महिलाहरुमाथि हुने सबै प्रकारका हिंसा नियन्त्रण गर्ने काममा समेत एकदमै अप्ठ्यारो परिरहेको बताएकी हुन्।
‘जिल्ला जिल्लामा महिलाहरुको इस्यूजहरु हेर्ने छैन। पहिला महिला विकास थियो। तर त्यो संस्थानै सरकारी निकायबाट हटाइएको छ। ती निकायहरुबाट धेरै समस्या समाधान हुन्थ्यो। अहिले त्यो नहुँदा एकदमै अप्ठ्यारो परेको छ। यस्तो अवस्था कसलाई गएर महिलाहरुले भन्ने त ?’ उनले भनिन्।
आरजुले अहिले फेरि त्यस्तै संरचना बनाउने विषयमा छलफल भईरहेको बताइन्। हरेक ठाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको सेवा केन्द्र स्थापना गर्ने भन्ने विषयमा स्थानीय तहमा छलफल भइरहेको उनले सुनाइन्।
देउवाले महिलाहरुको उजुरी हेर्ने नेपाल प्रहरीको महिला सेललाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन्।