PahiloPost

Jul 3, 2024 | २० असार २०८१

बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी, लुटेराको समूह भारत पुगेको आशंका



रमेश पराजुली

बुटवलमा सटर फोडेर ५ करोडको सुन चोरी, लुटेराको समूह भारत पुगेको आशंका

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बिपी चोकस्थित एक सुनचाँदी पसलबाट ठूलो परिमाणमा सुनका गरगहना र नगद चोरी भएको छ। सोमवार राति बिपिचोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी भएको हो।

चोरी गर्ने समूहले पसलको सटर र पसल भित्रको लकर (सेफ) फोडेर सुन, तयारी गहना र नगदसमेत गरी पाँच करोड बढी चोरेर लगेको पसलका सञ्चालक डिलबहादुर सुनारले जानकारी दिए। चोरी गर्ने समूहले सुन पसल सँगैको सटर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी गरेको सञ्चालक सुनारको भनाइ छ।

सुन पसलसँगै जोडिएको सटर भाडामा लिएका भारतीय नागरिकले नै पसलमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कपडा पसल सञ्चालन गर्ने भनी तीन महिना अघि दुई जना भारतीय नागरिकले तीन लाख एडभान्स दिएर घरभाडा सम्झौता गरेको पाइएको छ। व्यवसाय गर्न भन्दै उनीहरुले एक हप्ता अघिदेखि सटरमा रङरोगन लगायतका काम गरिरहेका थिए।

सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गोकुल विश्वकर्माका अनुसार चोरी गर्ने समूहले सोमवार मध्यराति ग्यास वेल्डिङ मेसिनको प्रयोग गरी सटरको तालासहित लकर फोडेर पसलमा भएको सबै गरगहना, सुन र नगद लिएर फरार भएका हुन्।

उनीहरुले सोमवार दिउँसो पसलमा फलामको र्‍याक जडान गर्न भन्दै एलपी र अक्सिजन ग्याँसको सिलिण्डर ल्याएको र त्यही ग्याँसको प्रयोग गरी पसलमा चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले घटनाबारे सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए।

‘सीसीटीभी फुटेजमा देखिएअनुसार प्रारम्भिक अनुसन्धान गरेका छौँ। उनीहरुको खोजी कार्य जारी छ’, उनले भने, ‘घरधनीसँग गरेको घरभाडा सम्झौता, आधारकार्ड र सीसीटीभी फुटेजका आधारमा सीमापारीको प्रहरीसँग समन्वय गरेर अनुसन्धान थालेका छौँ। घरबेटीसँग व्यवसाय गर्ने भनेर सम्झौता गरिएको रहेछ। लामो योजनापछि चारी गरेको देखिन्छ।’

चोरी गर्ने समूहले कपिलवस्तुको तौलिहवाबाट निकालेको सिम प्रयोग गर्ने गरेको खुलेको छ। त्यो सिमको नम्बरको लोकेसन मंगलवार ११ बजे सुनौली टावरमा देखाएकाले भारत छिरिसकेको अनुमान गरिएको छ।

सीमा क्षेत्र र भारतीय प्रहरीहरूसँग समन्वय भइरहेको र आवश्यक परे भारतमै पुगेर पनि अनुसन्धान गरिने डीएसपी पौडेलले बताए।

व्यवसायीहरु आक्रोशित

पटक-पटक सुन पसलहरुलाई लक्षित गरी चोरीको घटना बढेपनि प्रहरीले अहिलेसम्म चोरी भएका सुन फर्काउने र अपराधीलाई कारबाही गर्न नसकेको  व्यवसायीहरुले आरोप लगाएका छन्। चोरलाई देखाउँदा पनि प्रहरीले पक्राउ गर्न नसकेको व्यवसायीको आरोप छ।

ठूलो मात्रामा सुन र नगद चोरीमा संलग्नलाई पक्राउको माग गर्दै व्यवसायीहरुले बुधवार बुटवलका सबै सुनचाँदी पसलहरु बन्द गरेका छन्। चोरीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा प्रशासन मुकदर्शक बनेको र सुरक्षा दिन नसकेको भन्दै प्रशासनलाई दबाब दिनको लागि बुटवलका सबै सुनचाँदी पसल बन्द गरिएको सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले बताए।

पछिल्लो समय रुपन्देहीका सुन पसलमा चोरीका घटना बढेको पाइएको छ। पछिल्लो एक महिनाको अवधिमा मात्र बुटवल र सैनामैनामा गरी तीन वटा चोरीका घटना भएपनि कुनैपनि घटनाका पीडितले न्याय नपाएको अध्यक्ष विश्वकर्माको भनाइ छ।

‘पटक-पटक सुनचाँदी पसलमा चोरी भइरहेका छन्, चोरहरु पक्राउ परेका छैनन् यस्तो अवस्थामा कसरी व्यवसाय सञ्चालन गर्न सकिएला?’ सुनचाँदी व्यवसायी संघ बुटवलका उपाध्यक्ष मिलन बिकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell