
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई मनाउन चितवन पुगेका छन्।
उनले सत्तारुढ गठबन्धनले गरेको निर्णयविरुद्ध स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका उम्मेदवारले मनोनयन फिर्ता लिनेमा विश्वस्त रहेको समेत बताएका छन्।
‘मेरा अग्रज नेताहरू हुनुहुन्छ। समकालिन हुनुहुन्छ। उहाँहरूसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अघि बढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबैसँग परामर्श गरेर अघि बढ्छौं,’ उनले भने।
उम्मेदवारी फिर्ता लिने समय रहेको भन्दै उनले पार्टीको निर्णयलाई सहजतापूर्वक लिएर उम्मेदवारी फिर्ता लिन आफूले पौडेललाई भनेको बताए।
‘विश्वास छ नेता कार्यकर्ताले आफूले दिनुभएको उम्मेदवारी फिर्ता लिनुहुन्छ,’ उनले भने।
सत्तारुढ गठबन्धनले भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई दिएपछि स्थानीय कांग्रेसी नेता कार्यकर्ता असन्तुष्ट थिए। त्यसक्रममा जगन्नाथ पौडेलले महानगर प्रमुखमा गठबन्धनको निर्णयविरुद्ध गए मनोनयन दर्ता गराएका थिए।
उनले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमै सम्पन्न हुने समेत बताए।