PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

उद्योगमा बुधबारदेखि लोडसेडिङ



दिनेश खड्का

उद्योगमा बुधबारदेखि लोडसेडिङ

काठमाडौँः नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा सेड्युल लोडसेडिङ गर्ने भएको छ। भारतीय बजारबाट आवश्यक विद्युत किन्न नपाएपछि प्राधिकरणले बुधबारबाट पूर्व जानकारी दिएर उद्योगहरुमा लोडसेडिङ गर्ने भएको हो।

भारतमा महँगो भएको भन्दै झण्डै एक महिना अघिदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्न थालेको थियो। उर्जा संकट अझै लम्बिने देखेपछि प्राधिकरणले सेड्युल लोडसेडिङ गर्ने निष्कर्षमा पुगेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा बोलकबोल गरिएजति विद्युत नपाएका कारण औद्योगिक क्षेत्रमा लोड कटौती गर्नुपरेको बताए। उनका अनुसार ३/४ दिनदेखि पर्याप्त आयात नभएका कारण रातमा विद्युत कटौती भइरहेको छ।

अहिले प्राधिकरणले रातमा सबै उद्योगको विद्युत काट्ने गरेको छ। तर घिसिङले केहीमा आधा लोड दिएको, केहीमा थोरै समय मात्रै काटिएको दाबी गरे।

'भारतमा बिड गर्दा पाए दिने गरेका छौँ। बिड परेन भने दिन सक्दैनौँ', उनले भने।

बिड नपरे ६ बजे साँझ उदयोगहरुलाई भोलिपल्ट राती १२ बजे (१८ घण्टा) को जानकारी दिएर बत्ती काटिने घिसिङको भनाई छ।

'यति घण्टा काट्ने भनेर भन्न सकिने अवस्था छैन। १०/१५ दिन समस्या होला जस्तो छ,' उनले भने।

प्राधिकरणका अनुसार घरायसी क्षेत्रको भने विद्युत काटिने छैन। केही उद्योगमा भने दिउँसो पनि काटिएको हुन सक्ने उनको भनाई छ। भारतमै विद्युतको संकट सुरु भएपछि नेपालले विद्युत नपाएको हो। घिसिङ अनुसार भारतमै विद्युतको डिमाण्ड बढेको छ। भारतमा कोइलाबाट चल्ने थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको हिस्सा ठूलो छ।

रुस-युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइलाको अभाव छ। कोइलाको मूल्य चार गुणा बढेको छ। जसको असर विद्युत उत्पादनमा परेको छ। नेपालले भारतमा कोइलाबाट उत्पादन हुने विद्युत मात्रै प्रतिस्पर्धी बजारबाट किन्न पाउँछ।

स्थानीय माग पूरा गर्नका लागि औसतमा ३०० मेगावाट विद्युत आयात हुने गरेको छ। नेपालले अहिले इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट विद्युत आयात गर्छ जहाँ अहिले २० हजार मेगावाट विद्युतको माग हुन्छ। १८ करोड युनिटका लागि बिड पर्ने गरेको छ। सप्लायरहरु नै नभएका कारण ८ हजार करोड युनिट मात्रै सेल हुने गरेको छ। प्रतिस्पर्धी बजार भए पनि १२ रुपैयाँ भारु अधिकत मूल्य तोकिएको छ। सबै बिड गर्नेले १२ रुपैयाँ भारुमा बिड हाल्ने गरेका छन्।

'सबैले त्यही मूल्यमा हालेपछि बाँडिन्छ। हामीले अधिकतम ५ सय मेगावाट मात्रै बिड गर्न पाउँछौँ। ८० देखि १ सय मेगावाट पाउने गरेका छौँ,' उनले भने,' ढल्केबरबाट ४५० र टनकपुरबाट ६० मेगावाट ल्याउन स्वीकृत छ।'

भारतमा उद्योगहरुले निश्चित समयसम्मका लागि थर्मल प्लान्टसँग सिधै सम्झौता गरेर लिन थालेका कारण नेपालले विद्युत नपाउने अवस्था आएको हो। थर्मल प्लान्टहरुमा सामान्य समयमा २५ दिनका लागि पुग्ने स्टक हुने गरेको थियो। अहिले स्टक ६/७ दिनमा घटेको छ। ५० प्रतिशत प्लान्टमा दुई/तीन पुग्ने मात्रै स्टक छ। कतिपय पावर प्लान्टहरु नै बन्द हुन थालेका छन्।

भारतमा उद्योगले ५० प्रतिशत मात्रै लोड दिएको घिसिङको भनाइ छ। १४ वटा राज्यमा लोडसेडिङ छ। बिहारमा मात्रै १५ सय मेगावाट विद्युत अभाव रहेको घिसिङले बताए।

नेपालको समेत पछिल्लो बर्ष २५ देखि ३० प्रतिशतसम्म बढेको छ। उनले विद्युत सरप्लस हुन थालेपछि सबैलाई लोड स्वीकृत गरेका छन्। ६ सय मेगावाट ओद्यौगिक लोड स्वीकृत भएको छ।

३/४ सय मेगावाट अपरेसनमा नै आइसकेको दाबी छ। वैशाख लागेपछि स्थानीय उत्पादन डेढ सय मेगावाट घटेका कारण समस्या भएको छ। अहिले आन्तरिक उत्पादन औषतमा ९ सय मेगावाट छ। पिकिङ १४ सय मेगावाट सम्म दिन सक्छ। पिक डिमाण्ड १७ सय मेगावाटसम्म छ।

२५ देखि ३० प्रतिशत आन्तरिक उत्पादनले धान्दैन। सोही कारण भारतबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालले द्विपक्षीय सम्झौता अनुसारको विद्युत पाएको छैन। सोही कारण प्रतिस्पर्धी बजारबाट मात्रै किन्दै आएको छ। 'बिहारले दिउँसो दिइरहेको थियो। दुई/तीन दिन भयो दिउँसो पनि छाडेको छ। करिव एक महिनाका लागि क्राइसिस हुने देखियो' घिसिङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell