PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पत्रकारको जनप्रतिनिधि बन्ने धोको: कसैलाई चुनाव महङ्गो भएको चिन्ता त कोहीलाई पत्रकारिताले बाटो बिराएको चासो



मुकुन्द घिमिरे

पत्रकारको जनप्रतिनिधि बन्ने धोको: कसैलाई चुनाव महङ्गो भएको चिन्ता त कोहीलाई पत्रकारिताले बाटो बिराएको चासो

काठमाडौँ: स्थानीय तह निर्वाचनमा होमिने पत्रकारहरुको संख्या ठूलो छ। पत्रकार महासंघबाट राजीनामा दिएर स्थानीय तहको पदाधिकारी तथा सदस्यमा उनीहरुले मनोनयन दर्ता गराइसकेका छन्।

पालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षमा पत्रकार पनि प्रतिस्पर्धामा छन्। उम्मेदवारी दिने अधिकांशको फरकफरक आवाज छ। कोही भन्छन् : पत्रकारितादेखि वितृष्णा छ, केही भन्छन् : पालिकामा हुनुपर्ने जति विकास भएन, त्यसैले उम्मेदवारी।

सिके राउत नेतृत्वको जनमत पार्टीबाट सबैला नगरपालिका प्रमुखमा उम्मेदवारी दिएका वीपी साहले पत्रकारितामा डेढ दशक बिताइसकेका छन्। उनी पत्रकारिता क्षेत्रमा आफू सेवाको हिसाबले लागेको बताउँछन्। तर, अहिले पत्रकारिता क्षेत्रले बाटो बिराएको जिकिर उनको छ।

'मैले सुरुबाटै जागिरभन्दा पनि समाजका लागि पत्रकारिता गरेको थिएँ। पत्रकारिता उद्योगका रुपमा विकसित हुँदै गर्दा नाफा घाटाका कुरा अघि आए। यसो हुँदा यो समाजका लागि भन्दा पनि कर्पोरेटको दबाबमा देखियो,' उनले भने, 'सुरुबाटै राजनीतिमा चासो राख्ने सिके राउतको विचारधाराबाट प्रभावित भएँ। तर, पत्रकारिताले बाटो बिराउँदै जाँदा समाज सुधारका लागि राजनीतिमा खुलेर लागेँ।'

‘पूर्व पत्रकार’ भएर चुनावी माहोलमा होमिएका उनी आफू राजनीति र त्यसका दाउपेचसँग चिरपरिचित भएको बताउँछन्। पत्रकारितामा गरेको स्नातकोत्तर र कानुनमा गरेको एलएलबीले आफूलाई राजनीति बुझ्न सहज बनाएको उनले बताए।

'राजनीतिमा राम्रै रेस्पोन्स मिलेको छ। पहिला विश्‍वविद्यालयबाट राजनीति गरेर केन्द्रको राजनीतिमा जाने बाटो थियो। अहिले स्ववियूकै चुनावसमेत नगराएर त्यो बाटो बन्द गराएका छन्। त्यहाँ भ्याकुम सिर्जना भएको छ। जसले ६०/७० वर्षका नेताहरु पनि आफूलाई युवा नेता भनेर घुमिरहेका छन्।'

उनको तर्फ छ : राजनीतिको यही ‘ग्याप’लाई पूरा गर्न फरक ‘फिल्ड’बाट मानिस आउनुपर्ने आवश्यकता छ।

सुजन पन्तले पनि पत्रकारितामा आधा दशक बिताइसके। आसन्न स्थानीय तह निर्वाचनमा उनले गोरखाको गण्डकी गाउँपालिका ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका छन्। बाबुराम भट्टराईलाई आदर्श मान्ने उनी गाउँको विकास नभएकोले नै आफू नेतृत्वमा आउने प्रयासमा जुटेको बताउँछन्।

'गाउँको विकास हुनपर्ने जति देखिन। र, अब आउने चुनावमा आफैँ नेतृत्व लिनुपर्छ भन्ने हिसाबले गरेको हो,' उनले भने, 'गाउँको विकासका लागि आएको बजेट खर्च भएनन्। बजेट सदुपयोग भए विकास अवश्य हुन्छ।’  

७ वर्ष पत्रकारिता गर्दागर्दै सिकेका कुराहरुबाटै राजनीति बुझेको उनको अनुभव छ। उनको दाबी छ यसपटक जनताले उनलाई नै चुन्नेछन्।

भने, ‘यहाँको जनताले तपाईँ जस्तो युवा आउनु भयो भने अगाडि बढाउने भन्ने कुरा गर्नुभएको छु।’

स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराउनका लागि शान्ता आङबुहाङले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यबाट राजीनामा दिइन। ताप्लेजुङ पुगेर आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइन्। राजनीतिक पृष्ठभूमिबाटै पत्रकारितामा आएको बताउने उनी एमालेबाट उम्मेदवार बनेकी हुन्।

२०५९ सालमा पत्रकारिता सुरु गरेकी उनी मिडियाबाटै बोल्न, लेख्न सकेको बताउँछिन्। अब त्यही अनुभवलाई पालिकाको विकासमा लगाउने उनको वाचा छ।

'यहाँ त मेरो पालिकामा धेरै सामाजिक कामका लागि आइरहने क्षेत्र हो। सबै पालिकामा जान्थ्यौँ। राम्रो थियो। महिलाको क्षेत्रमा काम पनि गरियो,' उनले भनिन्।

पत्रकार गिरिश गिरी पनि अहिले चुनावी मैदानमा होमिएका छन्। वीरगंज महानगरपालिकाको प्रमुख पदमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनोनयन दर्ता गराएका छन्।

पत्रकारिता छाडेर केही समय ‘ब्रेक’ लिएका उनी पत्रकारिता गर्दागर्दै विकृति विसंगति बुझेकाले त्यसको समाधान गर्न उम्मेदवारी दिएको बताउँछन्।

'पत्रकारिता गर्दाखेरि हामी विकृति विसंगति र खासगरी स्थानीय निकायसँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो। यसबारेका कुरा हामी उठाउँदै आएका नै हौँ। त्यसमा हामीले चित्तबुझ्दो जवाफ पाइरहेका छैनौँ। यस्तो अवस्थामा म आफैँले अवसर पाएँ र जनताबाट निर्वाचित भएर काम गर्ने अवसर पाएँ भने केही फरक गर्छु भन्ने अठोट लिएको छु,' उनले भने।

पत्रकारितामा एउटा दायरा हुने र त्यो दायराभन्दा अघि बढेर धेरै गर्न नसकिने उनको बुझाइ छ। त्यसैले उनी भन्छन् : हामी प्रश्न उठाउन त सक्छौँ, जवाफ दिन सक्दैनौँ। म चाहिँ जवाफ नै दिने ठाउँमा बसेर काम गर्न चाहन्छु।

उनको सबैभन्दा ठूलो गुनासो भनेको महङ्गो चुनावलाई लिएर रहेछ।

'म पत्रकार त्यसमाथि जागिर छाडिसकेको हुनाले चुनाव लड्न जाने बेलामा स्पष्ट रुपमा पैसाको प्रतिस्पर्धामा जान सक्दिनँ भनेको थियो। त्यसो भन्दा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको मुख्य उद्देश्य नै भ्रष्टाचार मुक्त राजनीति भएको हुनाले त्यसको पहिलो शर्त नै चुनाव खर्चिलो नगर्ने बताउनु भयो,' उनी भन्छन्, 'लामो समयबाट मेरो मान्यता भनेको प्रजातन्त्रबाट ठूलो खतरा भनेको महङ्गिएको निर्वाचन हुँदै गएको छ।'

महङ्गिएको ‘चनावी ट्रेन्ड’ले गर्दा सामान्य नागरिकले राजनीतिमा आउनै नसक्ने अवस्था सिर्जना भएको उनको तर्क छ।

'गरिबको छोराछोरी त राजनीतिमा आउन सक्ने अवस्थै छैन। पाइलै टेक्न सक्ने अवस्था छैन। हामीले राजनीति कसको हातमा बुझाइ रहेका छौँ? गलत तरिकाले पैसा कमाउनेको हातमा सम्पूर्ण तरिकाले राजनीति सुम्पिएका छौँ,' उनले भने, 'यो विकराल हुँदै गएको छ। यो सबैभन्दा ठूलो थ्रेट हो भन्ने लाग्छ।'

महिलालाई हक अधिकार दिने कुरामा आफ्नो पार्टी सजग रहेको भए पनि अन्य पार्टीले मेयर र उपमेयर दुबै पुरुष नै राखेको उनको आरोप छ। उनले भने: महिला प्रतिनिधित्व प्रजातन्त्रले सुरक्षित गरेको छ तर यहाँ त्यस्तो अवस्था छैन।

कहाँबाट कसले दिए उम्मेद्वारी? 

स्थानीय तहमा जनप्रतिनिधि बन्न खोज्ने पत्रकारहरुको सूची यति मात्र छैन।

मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा मनोनयन दिएका छन्। राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन्। त्यस्तै अर्घाखाँचीको सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

सुदूरपश्चिममा पनि रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्रमा लामो समयदेखि कार्यरत सुनिता रावलले डोटीको शिखर नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएकी छन्। प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसीले बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्व  अध्यक्ष कञ्चन अधिकारीले पाँचखाल नगरपालिकाको प्रमुखमा, बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। नेपाल पत्रकार संघमा आवद्ध उनीहरुले महासंघबाट राजीनामा दिएर मनोनयन दिएका हुन्।    

यस्तै, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्यले दोलखाको मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खानले डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनमा होमिएका छन्। पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवानले जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन्।

स्थानीय तह निर्वाचनमा पत्रकाको सहभागिता बढेपछि महासंघले कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्था अनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने जनाइसकेको छ।    

यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशंकर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज ८ को वडा अध्यक्षमा पत्रकार सतीश दत्त, पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले माओवादी केन्द्रका तर्फबाट सोमवार उम्मेदवारी दिएका छन्।

आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासंघका महासचिव रोशन पुरीले आह्वान गरेका छन्।    

यसैगरी माओवादी केन्द्रका तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। यीलगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बताइएको छ।

राष्ट्रिय समाचार समितिको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell