इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबाद गुजरात टाइटन्ससँग पराजित भएको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा गुजरातले हैदराबादमाथि ५ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो। हैदराबादका लागि ओपनर अभिशेक शर्माले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६५ रन बनाउँदा एइडेन मार्क्रमले ५६ रन बनाए। त्यस्तै आक्रामक ब्याटिङ गरेका शशांक सिंहले ६ बलमा ३ छक्का र १ चौकाको सहायतमा२५ रन बनाउँदा राहुल त्रिपाठीले १६ रनको योगदान दिए।
बलिङतर्फ गुजरातका मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिँदा यस डायल र अल्जरी जोशेफले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित ओभरमा अन्तिम बलमा लक्ष्य पुरा गरेको हो।
गुजरातलाई राम्रो सुरुवात दिलाउन ऋद्धिमान शाहले अर्धशतकीय पारि खेल्दै ६८ रन बनाउँदा शुभमन गिलले २२ रनको योगदान दिए। त्यस्तै डेभिड मिलरले १७ र कप्तान हार्दिक पाण्ड्याले १० रन बनाउँदा दवाबमा आएको गुजरातको पारि राहुल तेवातिया र रासिद खानले सम्हाले। तेवातियाले २१ बलमा २ छक्का र ४ चौकाको सहायतमा ४० रन बनाउँदा राशिद खानले ११ बलमा ४ छक्काको सहायतामा ३१ रन बनाए।
बलिङतर्फ हैदराबादका उमरन मलिक एक्लैले ५ विकेट लिए पनि टीमलाई जित दिलाउन सकेनन्।
जितसँगै ८ खेलबाट १४ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो रहेको राजस्थानको १२ अंक छ भने हैदराबाद १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ।