PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्दै नेपाल एअरलाइन्स : वाइडबडी लिएर उत्रँदै पर्यटनमन्त्री आलेसहितको टोली



रमेश पराजुली

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्दै नेपाल एअरलाइन्स : वाइडबडी लिएर उत्रँदै पर्यटनमन्त्री आलेसहितको टोली

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एअरलाइन्सले बिहीवार परीक्षण उडान गर्ने भएको छ। नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज बिहीवार दिउँसो ३ बजे काठमाडौँबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको हो।

जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। जहाज भैरहवा पुगेको दुई घण्टापछि फेरि काठमाडौँ फर्किनेछ। दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि दाहालले जानकारी दिए। काठमाडौँबाट आएका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियमअनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने महाप्रबन्धक दाहालको भनाइ छ।

यसअघि गौतमबुद्ध विमानस्थलमा नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ। ६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नती भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन आउन लागेको हो।

थाइल्याण्डको एरो थाई कम्पनीले गत फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो। विमानस्थलबाट आउँदो जेठको २ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ। जजिरा एयलाइन्सले जेठ २ देखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ।

कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थलमा तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ। २०७१ सालमा शिलान्यास भएको विमानस्थल साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो। तर, भूकम्प, नाकाबन्दी, मधेश आन्दोलन र कोरोना महामारीलगायत विभिन्न कारणले विमानस्थल निर्माणमा केही ढिलाइ भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell