PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१० खेलाडीको विद्रोहपछि फुटबल टिमको मनमुटाव छरपस्ट : खेलाडी बाहिर, प्रशिक्षक मौन, एन्फाका पदाधिकारी मुखामुख



मुकुन्द घिमिरे

१० खेलाडीको विद्रोहपछि फुटबल टिमको मनमुटाव छरपस्ट : खेलाडी बाहिर, प्रशिक्षक मौन, एन्फाका पदाधिकारी मुखामुख
फाइल फोटो

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको मनमुटाव छरपस्ट भएको छ। नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टिमको कप्तानी गरिरहेका रोहित चन्दले पोषणयुक्त खाना र बसोबासलगायत टिम ब्यवस्थापनबारेको विषय उठाएपछि विवाद सुरु भएको बुझिएको छ।  

विवाद अघि बढ्दा टोलीका १० जना सिनियर खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन्। असन्तुष्ट सिनियर खेलाडीहरु यसबारे खुल्न चाहिरहेका छैनन्। यसबारे एकजना सिनियर खेलाडीलाई सम्पर्क गर्दा आफूले यस विषयमा अहिले केही नभन्ने जवाफ फर्काए। माल्दिभ्समा लिग खेलिरहेका कप्तान किरण चेम्जोङले भने यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्।

गएराति सामाजिक सञ्जाल फेसबुकमा चेम्जोङले आफू खेलाडीकै साथमा रहेको प्रतिक्रिया दिएका छन्।

'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सही होइन,' उनले भनेका छन्, 'टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु।'

अर्कोतर्फ अधिकांश विषय सामाजिक सञ्जालमा पोख्ने गरेका प्रशिक्षक अलमुताइरी यस विषयमा मौन देखिन्छन्।

यता टिम मेनेजर मधुसुधन उपाध्यायले भने क्याम्प छाडेका खेलाडीले बिहीवार बिहानसम्म सम्पर्क नगरेको बताए।

'अफ्ठ्यारो परेको भए खेलाडीले मसँग सम्पर्क गर्नुपर्ने हो। मसँग कसैले पनि सम्पर्क गरेको छैन। बिना सम्पर्क क्याम्प छाडेर गएकाले मैले एन्फालाई जानकारी गराइसकेको छु,' मेनेजर उपाध्यायले भने, 'क्याम्प छाडेर जानुपर्ने अवस्था नै के भयो भन्ने मेरो कुरा हो। वहाँहरुले मलाई भन्नुपर्थ्यो। मलाई केही जानकारी गराएको छैन।'

उनीहरुको स्थानमा अन्य खेलाडी बोलाउन अलमुताइरीले आफूलाई लिस्ट दिइसकेको उपाध्यायले बताए। खेलाडी र प्रशिक्षकको असमझदारीबारे आफू बेखबर नरहेको भने उपाध्यायले स्वीकारे।

'क्याम्प नै छाड्नुपर्ने अवस्था थिएन। उहाँहरुले होस्टेल बस्ने या नबस्ने भनेर उठाएको विषय सामान्य कुरा हो। उहाँहरु त्यहीँ बसेर हुर्किएको हो। सेवासुबिधा भनेको स्तरोन्नति गर्ने कुरा हो, बस्दैनबस्ने भन्ने कुरा पनि होइन,' उपाध्यायले भने, 'त्यही होस्टेलमा बसेर आज इन्टरनेसनल कहाँकहाँ पुगिसके भाइहरु, अहिले होस्टेलमा बस्दिन भन्न त पाइँदैपाइँदैन।'

होस्टेलको कमिकमजोरी सुधार्नुपर्ने स्वीकार गर्दै खेलाडीलाई हाल होटलमै राखेको उनको भनाई छ।

'बिना जानकारी क्याम्प छाडेर उहाँहरु निस्किएर जानु भएको छ। त्यो चाहीँ अलि अनुशासन विपरित कार्य भयो कि भन्ने मेरो बुझाइ हो,' उपाध्याय क्याम्प छाडेका खेलाडीमाथि अझै रुष्ट सुनिए।

यसमा प्रशिक्षकले भने आफूलाई रोहितलाई बोलाउनुपर्ने दबाव रहेको बताएको मेनेजर उपाध्यायले बताउँछन्।

'उहाँहरुले रोहितलाई बोलाउनु पर्छ, भन्ने दबाव थियो भन्छन् कोचले,' प्रशिक्षक अलमुताइरीलाई उद्धृत गर्दै उपाध्यायले भने, 'रोहित इन्जुरी छ। उ १० दिनदेखि रिह्याब गरेर बसेको छ। फिल्डमा ट्रेनिङ गरेकै छैन। फिजियोथेरापिस्टलाई सोध्दा वहाँको रेस्ट अझै बाँकी नै छ। फिल्डमा जाने अवस्था छैन भन्ने जानकारी गराउनु भएको छ।'

आफूले सबै विषय महासचिवलाई जानकारी गराएको उल्लेख गर्दै उपाध्यायले अब निर्णय एन्फाको हातमा रहेको बताए। यस विषयमा पटकपटक सम्पर्क गर्न खोज्दा महासचिव इन्द्रमान तुलाधर भने मोबाइल स्विच अफ राखिएको छ।

+++   

उसो त प्रशिक्षक र खेलाडीबीच पहिलोपटक टकराव भएको भन्ने चाहीँ होइन। शहीद स्मारक ए डिभिजन लिग चलिरहँदा क्लबमा अलमुताइरीले खेलाडीलाई विभिन्न टास्कहरु दिँदा खेलाडी असन्तुष्ट बनेका थिए। त्यस्तै 'खुट्टा जोगाएर खेल्नू' लगायतका निर्देशन दिँदा खेलाडीले उक्त विषयको जानकारी क्लबलाई दिएका थिए। क्लबका प्रशिक्षकले सार्वजनिक रुपमा आलोचना गरेका थिए। अझ मछिन्द्र क्लबले त एन्फामा उजुरी नै दिएको थियो। त्यसबेला क्लबसँग रिसाएका अलमुताइरी लिगका खेल हेर्न स्टेडियम नजाने घोषणासमेत गरेका थिए।

नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ, एसियन कप क्वालिफायर्सका लागि। बन्द प्रशिक्षण सुरु भएकै दिन पत्रकार सम्मेलन गर्दै अलमुताइरीले नेपाल एसियन कपमा छनोट हुनै नसक्ने दाबी गरिदिए।

'यथार्थमा भन्ने हो भने हामी छनोट हुन सक्दैनौं। किनभने हामी धेरै टाढा छौं। तर, सपना देख्न सकिन्छ। तर यथार्थमा धेरै गाह्रो छ। जर्सी, किट्स हुँदैमा एसिया कपमा छनोट हुन सकिँदैन,' अलमुताइरीले भनेका थिए, 'यसका लागि धेरै काम गर्नुपर्छ। हामीले ट्रेनिङ क्याम्प सुरु गरेका छौं। तर हामीले कडा प्रतिस्पर्धा गर्नेछौं।'

उनले आफूहरुले उच्च प्रतिस्पर्धा भने गर्ने जनाएका थिए। बन्द प्रशिक्षणको सुरुकै दिन हार्छौं भन्दा खेलाडीको मनोविज्ञानमा असर पर्दैन भन्ने प्रश्नमा अलमुताइरीले खेलाडी र प्रशिक्षक तथा प्रशिक्षक र मिडिया तथा एन्फाबीचको सम्बन्ध फरक भएको भन्दै यसले असर नगर्ने बताए।

'हामीसँग दुईवटा पक्ष छन्। पहिलो राष्ट्रिय टोलीका खेलाडीसँग। दोस्रो भनेको मिडिया, सर्वसाधारण, अफिसियल्स आदि। जब मैले हामी छनोट हुन सक्दैनौं भनिरहेको छु यो दोस्रो पक्षलाई भनिरहेको छु। म चाहन्छु दोस्रो पक्षबाट खेलाडीलाई कुनै दबाब नबनोस्,' अलमुताइरीले भने, 'म र खेलाडीबिच जे हुन्छ त्यो हामीबिचमा हुन्छ। साफ कपमा मैले फाइनलमा पुग्छौं भनेर भनेको थिएँ। तर एसिया कपमा हामी छनोट हुँदैनौं।'

त्यसको भोलिपल्ट खेलाडीको पत्रकार सम्मेलन थियो। तर, खेलाडीप्रति उनी अनुदार बने। १० मिनेट खेलाडीलाई बोल्न छुट्याएकोमा त्यो अवसर उनले दिएनन्। प्रशिक्षकले जे भने पनि आफूहरु एसियन कपमा छनोट हुने लक्ष्यका साथ खेल्ने खेलाडीले बताएका थिए।

बुधवार राति एकैपटक राष्ट्रिय टोलीको विवाद छताछुल्ल हुन पुग्यो। अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरु नै सामाजिक सञ्जालमा प्रश्न तेर्साएर बसेका छन्।

एन्फाको प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका केन्द्रीय सदस्य किरण राईले खेलाडी भर्सेस प्रशिक्षक र मेनेजेरको अवस्था आएको भन्दै अध्यक्ष कर्माछिरिङ शेर्पालाई सोधेका छन्: केही कदम उठाउने कि अध्यक्ष ज्यू?

त्यस्तै एन्फाका उपाध्यक्ष कृष्ण थापाले नैतिक रुपमा प्रशिक्षकले राजीनामा दिएर सहायक प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिनुपर्ने जनाएका छन्।

'नैतिक हिसाब ले प्रशिक्षकले राजिनामा दिनुपर्छ। प्रशिक्षणको जिम्मेवार सहायक प्रशिक्षकलाई दिनुपर्छ र खेलाडीहरु पुन प्रशिक्षणमा सहभागी भइ प्रतियोगिता सहभागी हुनुपर्दछ,' थापाले फेसबुकमा लेखेका छन्।

फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले आजै एन्फा गएर यसविषयमा थप बुझ्ने बताए। 'एन्फा नगइ सबै कुरा थाहा हुँदैन। खेलाडीसँग पनि छलफल गर्नुपर्ने भएको छ। बिस्तृत छलफल भएको छैन। एकजनाको मात्र कुरा सुनेर भएन,' थ्री स्टार क्लबको क्याप्टेनसमेत रहेका लामाले भने,' बुझेर खेल र खेलाडीका लागि उचित वातावरण के रहेछ भन्ने बुझेर काम गर्ने निर्णय गरेको छौं हामीले।'

नेपालले एसिया कप छनोटमा जोर्डन, कुवेत र इण्डोनेसियासँग जुन महिनामा प्रतिस्पर्धा गर्दैछ। त्यसअघि मे महिनाको अन्तिम साता अफगानिस्तानसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्नेसमेत तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell