काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय तालमेलको भावना विपरित उम्मेदवारी दिएकालाई आजै उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएका छन्। बिहीवार एक विज्ञप्ति जारी गर्दै देउवाले उक्त निर्देशन दिएका हुन्।
'पाँच दलीय गठबन्धनको निर्णय र सहमति अनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनु पर्नेमा, त्यसको विपरित पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र गठबन्धन गरिएका दलहरूका बिचमा भएको सहमतिअनुसार उम्मेदवारी छाड्नु पर्ने स्थानमा समेत उम्मेदवारी दर्ता गराएको पाइएकोले,' प्रधानमन्त्री देउवाले जारी गरेको अपिलमा भनिएको छ, 'देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफूले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समयभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु।'
भोलि साँझ ५ बजेभित्र उम्मेद्वारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिका रहेको छ। वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनमा आज उम्मेद्वारको नामावली प्रकाशन हुने भएको छ। साँझ ५ देखि ६ बजेभित्रमा उम्मेद्वारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।
वैशाख ११ र १२ मा दर्ता भएका मनोनयनको दाबीविरोधपछि नामावली प्रकाशन गर्न लागिएको हो। भोलि उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ। पाँच बजेपछि भने अन्तिम नामावली प्रकाश गर्ने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारलाई पर्सि चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ।
'साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी' भन्ने ठान्नु
प्रधानमन्त्री देउवाले साथीको उम्मेदवारी नै आफ्नो उम्मेदवारी ठान्नुपर्ने सुझावसमेत दिएका छन्। एक योग्य व्यक्तिले उम्मेदवार बन्न पाउँदा अर्कोले त्यो अवसर गुमाएकोबारेमा आफू जानकार रहेको उल्लेख गर्दै पार्टीको भावना ख्याल गर्न देउवाको अपिल रहेको छ।
'एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,' विज्ञप्तिमार्फत देउवाले भनेका छन्, 'तर पार्टीको विजयका लागि “साथीको उम्मेदवारीनै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु।'
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पाँच दलका बिचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने यसअघि सहमति भएको थियो। तर देशभरका स्थानीय तहमा तालमेल गर्ने भएपछि नेताकार्यकर्ता रुष्ट बनेका छन्। ठाउँठाउँमा गठबन्धनकै उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी परेको छ। कतै कांग्रेसकै उम्मेदवारविरुद्ध बागी उम्मेदवारीसमेत परेको छ।
अहिले लोकतन्त्रविरोध प्रवृत्तिलाई परास्त गर्नुपर्ने समय रहेको उल्लेख गर्दै देउवाले सबैलाई एक हुन आह्वान गरेका छन्। 'संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो।'
बुधवारमात्रै कांग्रेस महामन्त्री गगन थापाले पनि बागी उम्मेदवारलाई आफ्नो दाबी फिर्ता लिन आग्रह गरेका थिए। 'पार्टीभित्र मैले पनि भोगेर आएको छु। जिम्मेवारी पाउ भन्दै नपाएर भोगेर आएको छु। मैले त धेरै पाएको हो। कति साथीले उम्मेद्वार पाउ भन्दा पाइरहेका छैनन्,' थापाले भनेका थिए, 'पार्टी एउटा निर्णय गरेर गएपछि पार्टीको निर्णयलाई मान्नुपर्छ। सम्मान गर्नुपर्छ। सम्पूर्ण कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु। हामीसँग दुई दिन समय बाँकी छ।'