PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंहका सात संकल्प : सेवा सुशासनदेखि सुरक्षित शहरसम्म



पहिलोपोस्ट

काठमाडौं महानगरको मेयरकी उम्मेदवार सिर्जना सिंहका सात संकल्प : सेवा सुशासनदेखि सुरक्षित शहरसम्म

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी उम्मेदवारी सिर्जना सिंहले आफ्नो सङ्कल्पपत्र सार्वजनिक गरेकी छिन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रम सिंहले सङ्कल्पपत्र सार्वजनिक गरेकी हुन्।

उनले सात सङ्कल्पहरू अगाडि सारेकी छिन्। उनका सात सङ्कल्पहरूमा सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरबासी रहेका छन्।

उनले काठमाडौं महानगरपालिकामा महिलाहरूलाई केन्द्रमा राखेर काम गर्ने समेत बताएकी छिन्। काठमाडौंमा राति एक्लै सुरक्षित गएर हिँड्ने वातावरण बनाउने समेत उनले दावी गरिन्। जसका लागि सीसीटीभी क्यामरा जडानदेखि सुरक्षित वातावरण बनाउने उनले बताइन्।

आफू एक रात एक्लै हिँडेर काठमाडौं महानगरपालिका सुरक्षित छ भन्ने देखाउन समेत चाहेको उनले बताएकी छिन्।महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गर्ने उनले जारी गरेको संकल्पपत्रमा उल्लेख गरिएको छ।

स्वास्थ्यको क्षेत्रमा सुधार गर्न काठमाडौंमा महानगरीय अस्पताल स्थापन गर्ने समेत उनले बताइन्। उनले काठमाडौं महानगरपालिकालाई भष्ट्रचारमुक्त बनाउने दावी गरिन्।

उनले महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने संकल्प गर्ने बताइन्। उनले भनिन्,' भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु।'

सोही कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकालाई ‘महान घर’ बनाउन सिर्जना सिंहले सक्ने बताएका थिए। उनले भने, ‘पाँच वर्षमा विद्या सुन्दर हुँदा हामीले धेरै काम गर्न सकेनौँ। हामीलाई ठूला गफ दिने होइन, स-साना कुरा गरेर काठमाडौं बदल्न सक्ने मेयर चाहिन्छ।’

स्वास्थ्य, यातायात, महिलाको बारेमा काम गर्ने मेयर चाहिएको भन्दै उनले घरको भान्साबाट फोहोर व्यवस्थापन गर्ने मेयरको आवश्यकता भएको बताए।

केशव स्थापितले सिर्जनालाई बुहारी र श्रीमती मात्रै भनेकोप्रति गगनको जवाफ थियो, ‘सिर्जना बुहारी, श्रीमती मात्र हो? उहाँ म म हो भनेर आउन नपाउने? सिर्जना गणेशमानको बुहारी प्रकाशमानको श्रीमती मात्रै होइन।’

‘सिर्जना सिंहलाई हामीले भाउजु बनाएको हो। बुहारी बनाएको हो। दिदी हामीले बनाएनौँ। अब म सिर्जना दिदी बन्छु भनेर उहाँ अघि आउँदा हामीले रोक्न हुँदैन,’ उनले अगाडि भने।

यस्तै  पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले केशव स्थापितले काठमाडौंमा फर्केर आउने सपना नसोचे हुने बताएका थिए। मनोनयनपछि एमाले उम्मेदवार स्थापितले ‘गेम इज ओभर’ भन्दै जित आफ्नो पक्षमा रहेको दाबी गरेका थिए। उक्त भनाईलाई कटाक्ष गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘गेम इज ओभर रे। म भन्छु उहाँको गेम इज ओभर। वाग्मतीमा धेरै पानी बगिसक्यो। फेरि फर्केर आउने सपना नसोचे हुन्छ।’

महतले राजनीतिमा एमालेले धेरै मनोरञ्जनात्मक कुरा गरेको उल्लेख गर्दै अब त्यो नटिक्ने तर्क गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell