PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

देउवाविरुद्ध होइन उनका गलत क्रियाकलापविरुद्ध छौं : कर्ण मल्ल



पहिलोपोस्ट

देउवाविरुद्ध होइन उनका गलत क्रियाकलापविरुद्ध छौं : कर्ण मल्ल

कैलाली : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस भित्रको विवाद चर्कँदै गएको छ।

जिल्ला अधिवेशनमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै निवर्तमान सभापति कर्ण मल्ल पक्षले असन्तुष्टि राख्दै आए पनि त्यसको सुनुवाइ नभएरै अधिवेशन सम्पन्न भएको थियो। अहिले स्थानीय तहको निर्वाचनमा समेत देउवा पक्षले एकलौटी गरिरहेको भन्दै फेरि मल्ल पक्षले विरोध जनाउँदै आएको छ।

मल्ल पक्षले करुवा चुनाव चिह्न लिएर नेकपा (एमाले)सँग तालमेल गरि चुनावमा होमिने गरि मनोनयन दर्ता गराएको छ। उक्त कदमको विरुद्धमा देउवा पक्षले मल्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।

उक्त कारबाहीपछि आज डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गरि आफू पार्टी सभापति तथा प्रधानमन्त्रीविरुद्ध नरहेको बताए।

‘हामी शेरबहादुर देउवाको विरुद्धमा न हिजो थियौँ, न आज छौँ’, उनले भने, ‘पार्टीभित्र उनका गलत क्रियाकलापका विरुद्धमा हामी हिजो पनि थियौँ। आज पनि छौँ र भोलि जनताका बिचमा पनि लैजान्छौँ।’

मल्लले अब प्रतिनिधि सभामा देउवाविरुद्ध नै चुनाव लड्ने तयारी गरेको समेत चर्चा चलेको थियो। तर, उनले भने त्यसमा कुनै सत्यता नरहेको बताए।

‘तपाईँलाई म यस्तो भ्रमपूर्ण समाचार सम्प्रेषण नगरिदिन आग्रह गर्दछु,’ उनले भने, ‘अहिले हामी स्थानीय तहको निर्वाचनमा मात्रै केन्द्रित छौँ। त्यसबाहेक कुनै तयारी छैन।’

जिल्लाका ७ स्थानीय तहमध्ये ३ स्थानीय तहमा प्रमुख लिएर मल्ल समूह एमालेसँगको तालमेलमा अघि बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell