PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

राहदानी संग्राहलय संचालन गर्ने तयारीमा परराष्ट्र, ६९ जिल्लाबाट राहदानी वितरण सुरु 



पहिलोपोस्ट

राहदानी संग्राहलय संचालन गर्ने तयारीमा परराष्ट्र, ६९ जिल्लाबाट राहदानी वितरण सुरु 

काठमाडौं : राहदानी विभागले हालसम्म दुई लाख ३० हजार ५२७ विद्युतीय राहदानी वितरण गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बिहीबार नियमित पत्रकार सम्मेलनमा राहदानीका वितरण सहज बनाउँदै लगिएको दाबी समेत गरिन्। 

हाल ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरुबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको उनले जानकारी दिइन्। हाल गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, सुदूरपश्चिम जिल्लाका बझाङ बाजुरा, बैतडी र दार्चुला जिल्लामा यो सेवा पुग्न सकेको छैन। 

राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि रहेकोको लम्सालले जानकारी दिइन्। 

यसैबिच सरकारले राहदानी विभाग परिसरमै राहदानी संग्राहलय संचालन गर्ने भएको छ। प्रवक्ता लम्सालले नेपालको धार्मिक र सांस्कृतिक पहिचान झल्कनुका साथै राहदानीको इतिहासलाई संरक्षण गर्नका लागि संग्राहल संचालन गर्न लागिएको जानकारी दिइन्। 

उनले नेपालको राहदानीको इतिहास पनि पुरानो रहेको भन्दै नेपाली राहदानीको इतिहासका सम्बन्धि जानकारी संग्रालयबाट दिइने बताइन्। उनले संग्राहलय छिट्टै उद्घाटन हुने जानकारी दिइन्। 

श्रम मन्त्री र स्वास्थ्यमन्त्रीको विदेश भ्रमणको तयारी 

परराष्ट्रकी प्रवक्ता लम्सालले निकट भविष्यमा नै बहुराष्ट्रिय सम्मेलनहरुमा सहभागी हुन मन्त्रीहरुको विदेश भ्रमणको तयारी भइरहेको जानकारी दिइन्।  उनका अनुसार इन्टरनेशनल लेबर कन्फ्रेन्समा सहभागी हुन श्रम मन्त्री किसन श्रेष्ठ जेनेभा जानेछन्।

'हरेक वर्ष मन्त्रिस्तरीय सहभागी हुँदै आएको छ। यस वर्ष पनि मन्त्रिस्तरीय सहभागिता हुन्छ,' लम्सालले भनिन् , 'भ्रमणको तयारी भइसकेको छ। डलिगेट्सहरु फाइनल भइसकेको छैन।' सम्मेलन मे २७ देखि जुन ११ सम्म हुने छ। 

त्यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाको विदेश भ्रमणको तयारीसमेत भइरहेको छ।  ७५ औं वर्ल्ड हेल्थ असेम्व्लीमा सहभागी हुन मन्त्री खतिवडा जेनेभा जान लागेका हुन्। सो क्रममा उनले मन्‍त्रीस्तरीय बैठकमा सहभागी हुने छन्। सम्मेलन २२ मे देखि २८ मेसम्म हुँदै छ। 

हाल उर्जामन्त्री पम्फा भुसाल बंगलादेशको भ्रमणमा छन्। उनी एक सिँचाई परियोजना अवलोकनका लागि त्यहाँ पुगेकी हुन्। त्यस्तै शहरी विकास मन्त्री रामकुमारी झाँक्री 'न्यू अर्वान अजेन्डा' सम्मेलनमा सहभागी हुन न्यूयोर्कमा छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell