PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकियो, ३३ जिल्लामा भयो ढुवानी



पहिलोपोस्ट

आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकियो, ३३ जिल्लामा भयो ढुवानी

काठमाडौं : निर्वाचन आयोगले बिहीवारसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सकिएको जानकारी दिएको छ। नियमित पत्रकार सम्मेलनमार्फत आयोगले हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी भइसकेको बताएको छ।

त्यस्तै, आयोगले मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकाको हकमा सोही शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय भएको पनि जनाएको छ।

आयोगले बैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, मतदान स्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर बैशाख २८ गतेदेखि ३० गतेसम्म उपलब्ध गराउन नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ।

आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने मिति बैशाख ३० गते शुक्रवारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने भएको छ।

चैत ३० गतेदेखि आयोग र सामाजिक सञ्जाल भाइबरले आधिकारिक रुपमा निर्वाचन आयोगको भाइबर ग्रुप औपचारिक रुपमा सुरु गरेको छ। आयोगले यस प्लेटफर्मको प्रयोग गरी नागरिक तथा निर्वाचन सरोकारवालाहरुलाई समयसापेक्ष अध्यावधिक र सही सूचना उपलब्ध गराउने बताएको छ। यो प्लेटफर्मको प्रयोग गरी नागरिक र निर्वाचन सरोकारवालाहरुले निर्वाचन सम्बन्धि मतदाता शिक्षा र विभिन्न जानकारी प्राप्त गर्ने सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell