
पोखरा : सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरा महानगरपालिकालाई लिएर घोषणापत्र सार्वजनिक गरेको छ। पोखराको एसआरकेसी ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो।
गठबन्धनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्य र उपप्रमुखमा नेपाली कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी छ।
भित्र गठबन्धनको कार्यक्रम भइरहँदा बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका थिए। तर आचार्यले भने अन्तरविरोध भए पनि पोखराको विकासमा कुनै मतभेद नरहेको दाबी गरे।
'कहिलेकाँही अन्तरविरोध आउँछ। सामान्य विरोधलाई नसोचौं। हामीमा पोखरा बनाउने कुरामा मतभेद छैन,' उनले भने।
उनले फेवाताल संरक्षण, सेती नदी, हिमा गृहलाई पर्यटकीय आकर्षणको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा उपप्रमुखकी उम्मेदवार रानाभाटले गठबन्धन स्थानीय तह निर्वाचनसम्मका लागि मात्र नभइ संघीय निर्वाचनसम्म जानुपर्ने बताइन्।
'गठबन्धनले असहज अवस्था सिर्जना गर्ला भन्ने लाग्दैन। हामी चाहन्छौं प्रदेश केन्द्रीय तहको निर्वाचनमा सँगै जाओस्,' उनले भनिन्।
गठबन्धनको वाचाहरु
सत्तारुढ गठबन्धनले ७ वटा समुन्नत पोखराका प्रस्थान विन्दुहरु तय गरेको जनाएको छ। यस्तै, गुणस्तरीय र नि:शुल्क शिक्षा, महानगरीय व्यावसायिक शिक्षाको स्थापना, महानगरीय खेलकुद र आइसीटी एकेडेमीको स्थापना गर्ने वाचा घोषणापत्रमा गरिएको छ।
यस्तै गठबन्धनले सुत्केरी पोषण भत्ता, बालबालिका पोषण कार्यक्रम, महानगरीय आरोग्य धाम, मेट्रो अस्पताल, सक्षम पोखरा कार्यक्रम संचालन गर्ने पनि जनाइएको छ। गठबन्धनले ‘ग्रेटर पोखरा’ को अवधारणासँग तालमेल मिल्ने गरी ५ वटा ‘स्याटलाइट टाउन्स’ निर्माण गर्ने र आवश्यकता अनुसार महानगरमा आकाशे पुल, अन्डरपास र बाइपास निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस्तै, पोखरालाई खेलकुदको राजधानी बनाउने, स्मार्ट शौचालय निर्माण, हेलो मेयर कार्यक्रम लगायतका योजनाहरु पनि घोषणापत्रमा उल्लेख छ।
हेर्नुहोस् गठबन्धनको घोषणापत्र