.png)
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीको विवाद अहिले चर्किएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग जायज माग गर्दा पनि अन्यायपूर्ण व्यवहार देखाएको भन्दै टोलीका १० जना सिनियर खेलाडीले ‘विद्रोह’ गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै सिनियर खेलाडीले आफ्नो कुरा राखेका छन्।
अलमुताइरीले उनीहरुको स्थानमा अन्य खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण सुरु गरिसकेका छन्। विद्रोह गरेका खेलाडीहरुले गाँसबास माग्दा उल्टै आफूहरुलाई नै आरोपित बनाइएको भन्दै स्पष्टीकरण दिएका छन्।
हुन त अलमुताइरी यसअघि पनि विवादमा आएका थिए। तर, नेपाली फुटबल फ्यानहरुको समर्थन उनलाई रह्यो। अहिले भने खेलाडीबाट नै असन्तुष्टि आउँदा उनी भने भित्रभित्रै ती खेलाडीलाई अब मैदानमा फर्किन नदिने रणनीति बनाइरहेको दाबी गरिएको छ।
आखिर अलमुताइरीले के भने? जसकारण १० सिनियर खेलाडीले छाडे प्रशिक्षण क्याम्प।
खेलाडीकै शब्दमा यस्तो छ घटनाक्रम
एएफसी एसियन कप छनोट अन्तर्गत राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सोमबारदेखि राख्ने कार्यक्रम रहेको थियो। त्यसअघि प्रशिक्षणमा भने खेलाडी आ-आफ्नो घरबाट आउने गरेका थियौँ। उपत्यकाबाहिरका खेलाडी भने होटेलमा बसेका थियौँ। उपत्यकाबाहिरका खेलाडीलाई सुरुवातमा होस्टेलमा राख्ने भनिए पनि त्यहाँ दैनिक उपभोगका लागि नुहाउने, लुगा धुने पानी, खाने कुरा लगायत सुविधा नभएका कारण ५-६ घण्टा होस्टेलमा कुरेपछि अन्त्यमा होटलमा राखिएको थियो।
आइतबार प्रशिक्षण सुरु हुनुअघि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आफैँले हामीलाई भोलिबाट बन्द प्रशिक्षण सुरु हुने जानकारी दिनुभयो। त्यसपछि रोहित चन्दले होटेल बस्ने कि होस्टेल भन्ने प्रश्न उठाए। प्रशिक्षकले सुरुवातमा होस्टेलमा बस्ने जानकारी दिएपछि रोहितले होस्टेलमा दैनिक जीवनयापन गर्ने आधारभूत सुविधा पनि नभएका जानकारी दिए। उनले खेलाडीबीच सल्लाह भएअनुसार नै होटेलमा बस्नु उपयुक्त हुने बताएका थिए।
त्यसपछि प्रशिक्षक आक्रामक रुपमा प्रस्तुत हुँदै होस्टेलमा बस्न नचाहने खेलाडीलाई हात उठाउन बताउनुभयो। त्यसमा रोहित एक्लैले हात उठाएपछि प्रशिक्षक अलमुताइरी रिसाउँदै बाहिर जानुभयो। रोहित पनि केहीबेरमा बाहिर गए। एक छिनमा अलमुताइरीले भित्र आएर होस्टेलमा बस्न नचाहने कोही छ भने एसियन कपको क्याम्प छोड्न भन्नुभयो। उहाँले सबै होस्टेल जान नचाहने भए अन्य २३ खेलाडी टोलीमा राख सक्छु भन्नुभयो। उहाँ त्यसपछि प्रशिक्षण हुँदैन भन्दै बाहिरिनुभयो। यसबीचमा व्यवस्थापक मधुसुदन उपाध्यायले भित्र आएर होटेलको व्यवस्था भइसकेको जानकारी दिनुभयो।
हामी खेलाडी भने प्रशिक्षणका लागि मैदान प्रवेश गर्यौँ। झन्डै १०/१५ मिनेट मैदानभित्र नै कुरेपछि उहाँ प्रशिक्षण टोली र व्यवस्थापकसँग छलफल गरेर आफैँ मैदानमा आउनुभयो। हामीलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले 'वार्म अप' गराइरहँदा प्रशिक्षकले बाहिर रोहित चन्दसँग छलफल गर्नुभयो। रोहितका अनुसार उहाँले 'टोलीमा एक मात्र लिडर हुने र यसपटक टोलीमा सामेल गर्न नसकिने। तिमीले टोलीमा नकारात्मक असर पार्यौँ,' भन्नुभएको बताए।
त्यसपछि रोहितले आफ्नो रिह्याब पूरा गरेर सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जर्सी बुझाएर मैदानबाट बाहिरिए। यता प्रशिक्षक अलमुताइरीले पुनः हामीलाई प्रशिक्षण स्थलमा आएर रोहितलाई भनेको कुरा दोहोर्याउनुभयो। उहाँले होटेलको व्यस्थापन भइसकेको र आफूले मन चोर्न खोजेको पनि बताउनुभयो। त्यसपछि प्रशिक्षण सकियो।
रोहित बाहिरिएको देखेपछि हामी अलमलमा पर्यौँ। प्रशिक्षण सकिएर हामी आ-आफ्नो घर गयौँ। भोलिपल्ट सोमबार हामी समान बोकेर बन्द प्रशिक्षणमा सामेल हुन आयौँ। खेलाडीले यसबारे सहायक प्रशिक्षक किरण श्रेष्ठलाई सोध्यौँ तर प्रशिक्षकसँग सल्लाह गर्ने भन्दै उहाँबाट प्रष्ट जवाफ आएन। सोमबार प्रशिक्षण सुरु हुनेबेलामा प्रशिक्षकले हामीलाई आइतबारको घटनाबारे निराश रहेको भन्दै प्रश्न गर्दा सबै टिमले निराश रहेको बतायौँ। उहाँले निराश भए पनि केही फरक नपर्ने बताउँदै अन्य २३ खेलाडी ल्याउन सक्ने बताउनुभयो। अनि प्रशिक्षण पूरा गरेर समाप्त भयो।
भोलिपल्ट मंगलबार प्रशिक्षण सकिँदा पनि कसैबाट प्रष्ट जवाफ नआए पनि हामी चेन्ज रुममा प्रशिक्षकसँग रोहितबारे कुरा गर्न चाहन्छौँ भन्यौँ। उहाँले ५ जनाले आफ्नो धारणा राख्न भन्नुभयो। सबैको बोल्ने इच्छा भए पनि सिनियरको हिसाबले हामीमध्ये ५ जनाले रोहितको माग जायज रहेको र हामीले भनेर नै रोहितले बोलेको भन्न आशयको कुरा राख्यौँ। हामीले हाम्रो माग रोहितलाई फिर्ता गर्नु नभएको तर हाल क्याप्टेन रहेकाले उनले उठाएको विषय हामी सबैको हो भन्ने बतायौँ। त्यसपछि प्रशिक्षक अलमताइरीले आक्रोशित हुँदै एक साता प्रशिक्षण नहुने र अर्को २३ जना बोलाउने भन्दै चेन्ज रुम छाड्नुभयो। हामी होटेल पुग्दा प्रशिक्षकले चेन्ज रुममा बोल्ने ५ जना बाहेकका खेलाडीलाई व्यक्तिगत रुपमा बोलाउँदै, 'रोहितको टिममा खेल्ने कि अब्दुल्लाहको टिममा?' भन्दै प्रश्न गर्नुभयो। त्यसपछि चेन्ज रुममा बोलेका ५ जना खेलाडीलाई घर जान भन्दै अन्य खेलाडीलाई एक ठाउँमा राखेर टिम मिटिङ बोलाइयो। चेन्ज रुममा बोलेका ५ जना बाहिर रहँदा अन्य ५ जनाले यो ठिक होइन भन्दै मिटिङमा जान असमर्थता जनायौँ। अन्य खेलाडी भने मिटिड रुममा पसिसकेका थिए।
बाहिर रहेका १० मध्ये १ खेलाडीलाई विभागको दबाबमा मिटिङ हलमा पस्न बाध्य गराइयो। बाहिर रहेका अन्य खेलाडीलाई प्रशिक्षकसँग कुरा गर्न र माफी माग्न लगाउन गोलरक्षक प्रशिक्षक विकास मल्ल आउनुभयो। हामीले गल्ती नगरेकाले माफी माग्न आवश्यक नरहेको र छलफलका लागि भने तयार रहेको बतायौँ।
मिटिङ सकिएपछि बाँकी रहेका ९ जना हामी प्रशिक्षकसँग छलफलका लागि गयौँ। भित्र गएपछि उहाँले एकपक्षीय रुपमा आफ्नो धारणा प्रस्तुत गर्दै हामीलाई क्याम्प छोइन निर्देशन दिनुभयो। उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्ने समेत बताउनुभयो। उहाँले अन्त्यमा 'YOU STARTED THE WAR, AND I ENDED IT' (तिमीहरुले द्वन्द्व सुरु गर्यौ, मैले त्यो समाप्त गरेँ) भन्नुभयो। उहाँले त्यसपछि आफू पनि नजाने र हामीलाई पनि मिडियामा नजान निर्देशन दिनुभयो।
हामी प्रशिक्षक अलमुताइरीको निर्देशन अनुसार अनुमति लिएर बाहिरियौँ। त्यसपछि गोलरक्षक प्रशिक्षकले,' त्यसले भनेर मात्र हुँदैन, हामी पनि छौँ। त्यो विदेशी हो, त्यो कोही पनि होइन' भन्दै हामीलाई सहानुभूति दिनुभयो। त्यसपछि हामीले प्रशिक्षकको निर्देशन मान्ने र क्याम्प छाइने बतायौँ। टोलीका व्यवस्थापक मधुसुदुन उपाध्याय रंगशालाबाट नै घर गएको र समस्या हुँदा हुँदै पनि क्याम्पमा नआएकाले हामी यसै निस्कियौँ।