PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नेमकिपाको घोषणापत्र : एमसीसीदेखि महानगरको फोहोर व्यवस्थापनसम्मको चर्चा



पहिलोपोस्ट

नेमकिपाको घोषणापत्र : एमसीसीदेखि महानगरको फोहोर व्यवस्थापनसम्मको चर्चा
तस्विर : सुरेन्द्र राज गोसाइ

काठमाडौँ: नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र सार्वजनिक गरेका हुन्। गएको निर्वाचनमा नेमकिपाले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुख सहित १० वटै वडामा जित हासिल गरेको थियो। नेमकिपाले यसपटक पनि त्यही सिलसिला जारी रहने दाबी गरेको छ।

घोषणापत्रमार्फत भने नेमकिपाले सत्तामा रहेका दलहरुले २०७४ सालमा वाचा गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएको छ।नेमकिपाले मिलिनियम च्यालेन्ज कर्पोरेशन, युक्रने युद्ध, श्रीलंका संकटलगायतका बारेमा पनि घोषणापत्रमा उल्लेख गरेको छ।

घोषणापत्रमा महानगरपालिका र उपमहानगरपालिकाको फोहोर व्यवस्थापन, खानेपानीको वितरण, सडक व्यवस्थापनबारे आफ्नो योजना उल्लेख गरेको छ। उसले राजमार्ग र नगरमार्ग फरक हुनुपर्नेमा जोड दिएको छ। फोहोर व्यवस्थापन बारे सुझाव दिँदै नेमकिपाले संघीय राजधानी काठमाडौं बाहिर सार्न पर्ने समेत उल्लेख गरेको छ। 

'यस्तो स्थिति आजको मात्र होइन, हरेक महिना र हरेक वर्ष यस्तै छ। यसकारण, महानगरपालिकाहरूले घर-घरबाटै कुहिने र नकुहिने फोहर छुट्याउने, प्लास्टिक, किला-काँटी र काँचजस्ता पुनः प्रयोगमा पठाउने सामानलाई छुट्याउने काम हरेक वडाहरूबाट गर्दा व्यवहारिक हुनेछ । त्यस्तै, कुहिने फोहर विसर्जन गर्न कमसेकम १५-२० वर्षलाई पर्याप्त हुने ठाँउको बन्दोबस्त गर्नु आवश्यक छ,' घोषणापत्रमा उल्लेख छ, 'यसका लागि ठूलो क्षेत्र अधिग्रहण महानगरपालिकाहरूले मात्र गर्न नसक्ने हुँदा सङ्घीय सरकारले नै बन्दोबस्त गर्नु आवश्यक छ। किनभने, फोहोर विसर्जन गर्ने ठाँउ बस्तीबाट १०–२० किलोमिटर टाढा हनु आवश्यक छ । यदि त्यसो गर्न सकिन्न भने सङ्घीय राजधानी अन्य प्रदेश वा दाङ जिल्लामा लानु उचित हुनेछ।'

साथै, नगरपालिका र गाउँपालिकाका लागि पनि छुट्टै प्रतिबद्धता नेमकिपाले अघि सारेको छ। घोषणापत्रमै उसले २०७४ सालमा आफ्नो पार्टीबाट जितेका उम्मेदवारहरुले गरेको कार्य विवरण पनि पेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell