PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार पुनः सुनुवाइ हुने



पहिलोपोस्ट

गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार पुनः सुनुवाइ हुने

काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा शुक्रबारका लागि राखिएको छ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो। गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै यही वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

यसअघि, न्यायाधीश हरिप्रसाद फुयालको यही वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा सुनुवाइ भइरहेको छ।

मन्त्रिपरिषद्को गत चैत २५ गतेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell