PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्वाचनमा सांगीतिक रौनक : चुनावी गीत मतदाता रिझाउन कि माहोल आफ्नो पक्षमा बनाउन?



लक्ष्मी बलायर

निर्वाचनमा सांगीतिक रौनक : चुनावी गीत मतदाता रिझाउन कि माहोल आफ्नो पक्षमा बनाउन?

काठमाडौं : स्थानीय तहको चुनाव नजिकिँदा आफ्नो पार्टीलाई जिताउन नेता/कार्यकर्ता प्रचारप्रचारमा होमिएका छन्। प्रचारप्रचारकै सशक्त माध्यम हो : गीतसंगीत। विगतमा झैं यसपटक पनि पार्टी निकट कलाकारले चुनावी गीत सार्वजनिक गर्ने क्रम बढ्दो छ। युट्युबमा यसखाले दर्जनौँ चुनावी गीतहरू आइरहेका छन्। सामाजिक सञ्जाल फेसबुक, टीकटकसम्म यस्ता गीतको प्रयोग बढ्न थालेको छ। 

नेकपा एमालेको चुनावी माहोल बनाउन 'मेरो देशै एमाले, म त यसै एमाले' चुनावी गीत चर्चामा छ। सुजन लम्सालको शब्द रहेको गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसीलगायतको स्वर सुन्न सकिन्छ। यस गीतमा एमालेले मात्रै देशको मुहार फेर्ने भन्दै पार्टीको बखान गरिएको छ।

यतिमात्र हैन एमाले अध्यक्ष केपी शर्मा ओलीकै शब्द, प्रकाश सापकोटाको संगीतमा र दीपा सापकोटाको स्वरमा ‘सूर्यमा भोट, ड्याम कि ड्याम’, कमल वलीको स्वरमा ‘सूर्यमै भोट हालौँ’, एमाले जिन्दावादजस्ता गीतहरू आइसकेका छन्। एमालेमा रहेको साइबर सर्कल विभागले टिकटकमार्फत चुनावी प्रचारसमेत गरेको छ। सर्कलले पहिलो हुनेलाई एक लाख रुपैयाँ राशिको पुरस्कार राखेर टिकटक प्रतियोगिता सुरु गरेको छ। टिकटक भिडियो प्रतियोगिताको पहिलो हुनेलाई १ लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार तोकिएको छ

माओवादी केन्द्रले चितवन, भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल जिताउन अपिल गर्दै गीत सार्वजनिक गरेको छ। गीतमा रेनुले गरेका विकासका कामहरूको व्याख्या गरिएको छ। यसबाहेक डोलराज न्यौपानेको 'माओवादीलाई भोट हालौं', किरण बावु पुनको चुनावी सन्देश, निमुखालाई अधिकार लिएर आयो माओवादी, तामाङ भाषामा 'भोट पिन्गे माओवादी त चुपाली' जस्ता गीत चर्चामा छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका चुनावी गीत पनि उत्तिकै चर्चामा छ। विमल क्षेत्री र प्रिती आलेको स्वरमा 'च्याप्पै स्वस्तिक समाउनी, छयाप्पै रुखमा छाप लाऊनी (रानी फुलैमा)' गीत कांग्रेस कार्यकर्ताले मन पराएका छन्। रामजी खाँण र राधिका हमालको स्वरमा ‘लोकतान्त्रिक समाजवाद’ जस्ता भोट हालौँ काँग्रेसलाई, रगत नै हाम्रो काँग्रेस, जय नेपाल, हाम्रो पार्टी नेपाली काँग्रेस, काँग्रेसमय पालिका, चार तारे झन्डा, अब भोट काँग्रेस नेतालाई पनि युट्युबमा अपलोड भइसकेका छन्। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का चुनावी गीतहरू सार्वजनिक गरेका छन्। कांग्रेस केन्द्रले पनि आफ्नो पार्टीको पक्षमा बनेका गीतलाई सामाजिक सञ्जालमा बुस्ट गर्ने जनाएको छ। यतिमात्र हैन उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिनेसमेत जनाएको छ।

यसो भन्छन् पार्टी निकट कलाकारहरु

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलसँग सम्बन्धित साँस्कृतिक संघले सांगीतिक चुनावी प्रचार तीव्र रूपमा अगाडि बढाएको छ। स्थानीय चुनावलाई लक्षित गरेर अन्य सामाग्रीहरू पनि ल्याउने तयारी रहेको कांग्रेसको भातृसंस्था नेपाली साँस्कृतिक संघका महामन्त्री शिवशंकर रिजाल (जोगिन्दर) ले जानकारी दिए।

‘चुनाव प्रचारप्रसारकै लागि चेतनामुलक सर्ट भिडियो, हाजिरजवाफ प्रतियोगिता, कमेडी भिडियोहरू आउँदैछन्। साथै नाटकहरू पनि हामीले तयार पारिरहेका छौँ। सातैवटा प्रदेशमा आमसभा हुँदैछ। आमसभामा पार्टीसँग आबद्ध भएका कलाकारहरू सहभागी हुनेछन्,’ उनले भने।  

कांग्रेसका चुनावी गीतहरू पार्टीको उन्नति र समृद्धिकै विषयमा केन्द्रित रहेको उनको दाबी छ। कांग्रेसलाई भोट किन दिने, पार्टीले गरेका र गर्न बाँकी कामहरू समेत गीतमा समेटिएको रिजाल सुनाउँछन्।

चुनावी गीतहरूलाई आम जनतासम्म पुर्‍याउन डिजिटल माध्यमको ठूलो भूमिका रहेको उनको धारणा छ। भन्छन्, ‘डिजिटल माध्यमले पनि मतदाताहरूलाई रिझाउन निकै सहयोग गर्छ। अहिले सामाजिक सञ्जालको दुनियाँ हो। पार्टीका केही कार्यकताबाहेक मतदाताहरू तटस्थ छन्। ती तटस्थ मतदातालाई आकर्षित गर्ने भनेकै गीतसंगीत, सन्देशमुलक श्रव्यदृश्य सामाग्रीले हो।'

अखिल नेपाल जनसांस्कृतिक महासंघका (माओवादी) केन्द्रका उपाध्यक्ष चेतन सापकोटाले पनि चुनाव केन्द्रित गीतहरू आइरहेको बताए। सापकोटाकै शब्द र संगीतमा 'लै लै बरिलै, साँचो कुरा भन्छु सबैलाई' चुनावी गीत आउँदैछ।

सापकोटा भन्छन्, 'चुनावी प्रचारमा हामीहरू तीव्र रूपमा लागिरहेका छौँ। स्थानीय कलाकारहरू नै धेरै गीतहरू निकालिसक्नु भएको छ। केन्द्रीय पार्टीले भने कुनै गीतहरू निकालेको छैन। संघबाट चुनावी प्रचारको लागि गीतिकथा ल्याउने तयारी गरेको छ।' माओवादीले उठाएका चुनाव केन्द्रीत गीतहरूले विभिन्न सामाजिक मुद्दा र परिवर्तनका बिषयमा वकालत गरेको उनको तर्क छ।

चुनावी गीतहरूले माहोल बनाउने र जनताहरूलाई बिर्सिएका कुराहरू याद गर्न सहयोग गर्ने उनले बताए। ‘चुनावी गीतको पहिलो काम माहोल सिर्जना गर्ने हो। जनताहरू त्यति सोझा पनि छैनन् गीत सुन्ने बित्तिकै भोट हाल्नलाई। तर आन्दोलनमा हिडेका र भोट माग्न हिडेका अभियान्तालाई जोश दिन र माहोल बनाउन गीतले भूमिका खेल्छ। गीत सुनेपछि जनताहरूले पार्टीले गरेका कामहरू सम्झन्छन्, मनन गर्छन्,’ उनले भने।

एमालेको जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमराज अधिकारी पनि धेरैजसो स्थानीय तहबाट नै चुनावी गीतहरू सार्वजनिक भइरहेको बताउँछन्। साथै चुनाव प्रचारप्रसार लक्षित गीतहरू आउने तयारीसमेत उनले बताए।

'यसपटक स्थानीय तहबाट नै धेरै गीतहरू निस्केका छन्। संघबाट पनि केही गीतहरू आउँदैछन्। १७ गते चुनाव लक्षित कवितात्मक कार्यक्रम पनि छ। त्यसबाहेक चोकचोकमा कविता वाचन गर्ने योजना बनिरहेको छ। सर्ट नाटकहरू पनि बनाएका छौँ।'

चुनाव लक्षित गीतहरू केपी शर्मा ओलीको 'समृद्ध नेपाल र सुखी नेपाली' नारालाई नै केन्द्रविन्दुमा राखेर बनाएको उनको तर्क छ। आफूले गरेका राम्रा काम र आगामी दिनमा गर्ने कामहरूलाई जोडेको पनि उनले स्पष्ट पारे।

डिजिटल माध्यमले चुनावी प्रचारमा सजिलो गरेको सुनाउँछन् उनी। भन्छन्, 'पहिले भौतिक उपस्थितिमै ठूला कार्यक्रमहरू हुन्थे। धेरै खर्च हुने र समय व्यवस्थापन पनि कठिन। तर डिजिटल माध्यमले निकै गुन लगाएको छ। गीतलाई युट्युबमा सार्वजनिक गर्‍यो। टिकटकमा क्लिप हाल्यो। सामाजिक सञ्जालमा पठायो। निकै सजिलो बनेको छ।'

पहिलेजस्तो गीतकै कारणले प्रचारप्रचारमा छलाङ मार्ने जमाना नरहेको अधिकारीको धारणा छ। तर आफूले गरेको कामहरू बुझाउन गीत नै चाहिने बताउँछन् उनी।

भन्छन्, 'गीतसंगीत सजिलो माध्यम हो। जनतालाई झक्झकाउने काममा संगीतको ठूलो दम हुन्छ। गीतमार्फत छोटो र मिठो शब्दले भन्न सजिलो हुन्छ। चेतना अभिवृद्धि पनि संगीतको ठूलो प्रभाव हुन्छ। तर यसकै कारण मत आउँछ भन्ने हुँदैन।'  

कस्तो गीत निकाल्नु राम्रो?

चुनावमा गीतसंगीत प्रयोग गर्नु नौलो भने होइन। नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र, बहुदल, लोकतन्त्र तथा गणतन्त्रको स्थापनासम्ममा पनि गीतसंगीत, साहित्य र रंगमञ्चको प्रयोग गरिने कलाकार मदनकृष्ण श्रेष्ठ बताउँछन्।

'पहिले पनि चुनावमा गीतसंगीतको प्रयोग गरिन्थ्यो। १५ सालतिरको चुनावमा पनि 'धानको बाला झुल्यो हजुर देशै रमाइलो', हातको भोट हातमै खसालौँजस्ता चुनाव लक्षित गीतहरू बनेका थिए। पहिले पनि पार्टी र व्यक्तिकै गुणगानका गीतहरू आउँथे,' श्रेष्ठ सम्झिन्छन्।

गायक तथा संगीतकार शम्भुजित बास्कोटा पनि चुनावमा गीतसंगीतको प्रयोग हुनु नयाँ कुरा नभएको बताउँछन्। पहिलेका चुनावी गीतले पनि पार्टीको व्याख्या गर्ने र भावी योजनाहरू समेट्ने बास्कोटा सुनाउँछन्।

'पहिले चुनावको बेला कार्यक्रमहरू गरिन्थ्यो। नेताहरूको भाषणअघि कलाकारलाई गीत गाउन र नाच्न लगाइन्थ्यो। त्यो बेला क्यासेटको जमाना थियो। तर बिस्तारै प्रविधिको विकाससँगै माध्यम फेरिएको छ। युट्युब, टिकटक र सामाजिक सञ्जालमा छ्यापछ्यापी चुनावी गीतसंगीतहरू भेटिन्छन्,' उनले सुनाए।   

प्रविधिको विकाससँगै अहिलेका चुनावी गीतमा मौलिकता हराउँदै गएको बास्कोटाको आरोप छ। भन्छन्, 'पहिलेको गीतहरू मौलिक भएका कारण पार्टीको पहिचानजस्तै हुन्थे। तर अहिलेका चुनावी गीतहरूमा पुरानै गीतहरूको लय र ट्र्याक प्रयोग गरिन्छ। जसकारण जनता झुकिन्छन्।'

चुनावी गीतहरूमा आफ्नो प्रशंसा गरेपनि अरूलाई आक्षेप लगाउने काम चाँहि नगर्न उनले सुझाव दिए। अरूको आलोचना गरेको चुनावी गीतमा पार्टीको स्तर पनि देखिने उनको तर्क छ।

राष्ट्र र पार्टीमा गीतसंगीतको निकै महत्त्व रहेको उनी बताउँछन्। 'संगीतको प्रभाव निकै बलियो छ। संगीत हरेक ठाउँमा प्रयोग हुन्छ। तर संगीतलाई जसरी राष्ट्रले सम्बोधन गर्नुपर्ने हो त्यसरी भएको छैन। चुनावपछि सबै पार्टीको सम्बोधनमा गीतसंगीत आओस् भन्ने मेरो चाहना हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell