PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिरिबाबुलाई हराउन हरिकृष्णका तीन आधार यस्तो, गठबन्धनलाई प्रश्न, 'शेरबहादुर देउवाले कान्छी भाउजुसँग एकता गर्ने त होइन होला?'



प्रकाश भण्डारी

चिरिबाबुलाई हराउन हरिकृष्णका तीन आधार यस्तो, गठबन्धनलाई प्रश्न, 'शेरबहादुर देउवाले कान्छी भाउजुसँग एकता गर्ने त होइन होला?'

ललितपुर : २०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर महानगरमा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार र नेपाली कांग्रेसका चिरिबाबु महर्जनबिच मुख्य प्रतिस्पर्धा भयो। २४ हजार ६ सय ४२ मत महर्जनले ल्याउँदा ब्यञ्जनकार २४ हजार ३ सय १६ मतमात्र पाएर पराजित भए।

५ वर्षपछि फेरि हुन लागेको स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी दोहोरिएका छन्। महर्जन र व्यन्जनकारबिच नै मुख्य प्रतिस्पर्धा हुने छ। महर्जन सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् भने एमालेबाट उम्मेदवार हुन् व्यन्जनकार। एमालेकाविरुद्ध गठबन्धन बनाएर चुनावमा गएका सत्ता गठबन्धनका उम्मेदवार जिताका लागि हौसिरहेका छन्। २०७४ कै चुनावमा हराएकोले अहिले झनै सहज हुने आँकलन छ महर्जनको। तर यता व्यन्जनकार त्यसैलाई स्वीकार्दैनन्। बरु, २०७४ मै आफूले जिते पनि धाँधली गरेरै हराएको आरोप छ व्यन्जनकारको। मेयर महर्जनलाई सजिलैसँग हराउने दाबी गरिरहेका छन् व्यन्जनकार। चिरपरिचित प्रतिद्वन्द्वीसँग फेरि चुनाव जित्ने आधार के के छन् त? व्यन्जनकारलाई हामीले सोधेका छौं :

यो पटक जित्ने आधार के देख्नु भएको छ?

पहिलो कुरा २०७४ मा पनि मैले जितेको। दोस्रो, त्यतिखेर भन्दा अहिले हाम्रो पार्टी निकै सबल भएको छ। त्यतिखेर वडाहरु मर्ज हुँदाखेर दुईवटा वडामा कसलाई टिकट दिने समस्या भो। पुरानो रुपमा संगठन थियो। अहिले अधिवेशन हुँदै महाधिवेशन सकिएपछि हाम्रा कमिटीहरु चुस्तदुरुस्त छन्। माओवादीका धेरै मानिसहरु हाम्रो पार्टीमा आएका छन्। तेस्रो कुरा भनेको  चिरिबाबु कस्तो मान्छ हो भन्ने ललितपुरको मानिसले चिनिसक्यो। चिरिबाबुको पहिलाको भन्दा भोट घट्छ।

त्यसो भए त्यतिबेला धाँधली भयो?

धाँधली भएकै हो। म सँग प्रमाण नै छ। मैले अदालतमा मुद्दा हालेर प्रमाण पेश गरेको छु। एउटा वडामा १ सय १२ भोट बिगारेको छ। अर्को वडामा १ सय २८ मत बिगारेको छ। कुनै वडामा ४३ कुनैमा ५०। हामीले त्यो कुरा अदालतमा पेश गर्दा अदालतले पनि होइन भन्न सकेन। अर्कै कारण देखाएर उच्च अदालतले हाम्रो निवेदन खारेज गरिदियो। अहिले हामी सर्वोच्च अदालतमा छौ।

तपाइले जित्ने दाबी त गर्नुभो तर एकातिर एमाले विभाजित र अर्कोतिर एमालेविरुद्ध सत्ता गठबन्धन छ। बरु कमजोर देखिनुभयो नि तपाईहरु?

गठबन्धन कसले गर्छ? कमजोरले  गर्छ। बलियो भएको भए एक्लै आइहाल्थ्यो नि। शेरबहादुर देउवाले नै हामी एमालेसँग एक्लै लड्न सक्दैनौ भनेको तपाइले देख्नुभएको छ। हामी त्यससँग डराउने त? हामी बलियो छौ उनीहरु कमजोर  भएर गठबन्धन गरेका हुन्। नभए शेरबहादुर देउवाले कान्छी भाउजुसँग एकता गर्ने त होइन होला।

मनोनयनको दिन मेयर चिरिबाबुले हरिकृष्ण म सँग जित्दै जित्दैन भन्नुभएको थियो। तपाइले म पाँच हजार बढी मतले जित्छु भन्नुभयो। उहाँले १५ हजार बढी मतले जित्छु भनिरहनुभएको छ?

उनको भोट पहिलाको भन्दा घट्छ।  उनले पाएको मतको जुन बेस थियो त्यो सबै भत्किसक्यो। म सँग त्यो सबै कुराको प्रमाण छ। हामीसँग ५ हजार बढी मतले जित्ने आधार छ। एक वडामा सय भोटले हारेको अहिले ३ सय भोट माओवादीबाट हामीमा आएको छ। पाँच वडामा पनि राम्रो काम भएको छ। ६ वडामा पनि हामी जित्छौ। ७ वडामा शक्तिशाली कार्यकर्ता आएको छ।  पहिले विवेकशील साझाले पनि अलिकति भोट काट्यो होला। सबै वडा हेर्दाखेरी र हामीसँग डाटा पनि छ। माओवादी केन्द्र हामीसँग आएको छ। त्यसैले जित्छौं।

तपाइको पार्टीमा आउनेमात्रै होइन एकीकृत समाजवादीमा जाने पनि छन् नि?

समाजवादीमा कति मानिसहरु गएको छ र। एक जना वडा अध्यक्ष २ नम्बर वडाको गयो। ३ नम्बर वडाको ३/४ जना गयो। १५ नम्बर वडाको २/४ जना गयो।

जितेपछि ठ्याकै यो गर्छु भन्ने के छ? अरुले भनेजस्तै एजेण्डा त होलान् तपाइको पनि, तपाइलाई नै किन भोट दिने?

२०८४ भित्रमा यो ललितपुर महानगरभित्रका बाटोहरु सबै पक्की हुनेछन्। खानेपानीको सवालमा २ महिनाभित्र सबै समस्या समाधान भइसक्नेछन्। रोजगारीको सवालमा हामीले अधिकांश मानिसलाई रोजगार दिइसकेका हुने छौँ। फोहोरमैलाको सवालमा फोहोरबाट मोहोर निकाल्ने काम गर्ने छौ।  फोहोरलाई एउटा मेसिनमा राखेर ग्याँस निकाल्ने काम गर्ने छौँ। आर्ट क्याम्पस ल्याइसकेका  छौँ त्यसलाई अघि बढाउनेछौँ। 

तपाई पार्टीको केन्द्रीय सदस्य पनि, कार्की बैंक्वेटमा बसेको एमालेको सबैभन्दा पछिल्लो केन्द्रीय कमिटीको बैठकमा एमालेले जितेका ठाउँलाई पनि जोगाउन मुस्किल हुन्छ गठबन्धनसँग जाँदा भन्ने रिपोर्टिङ थियो। त्यो हेर्दा त एमालेको स्थिति पहिलाको भन्दा कमजोर हुने देखियो नि?

तपाइले देख्नु भएको छैन वीरगजंको मेयर विजय सरावगी कता प्रवेश गरेका छन्? तराईका कति मानिस प्रवेश गरेका छन्। जनकपुरमा कति मानिसहरु प्रवेश गरेका छन्। जुम्ला हुम्लामा कति मानिसहरु प्रवेश गरेका छन्। त्यो हिसाबले त हामी पहिलेको भन्दा धेरै मतले  जित्छौ। किनभने एमालेको अध्यक्ष केपी शर्मा ओली जहाँ जानुहुन्छ त्यहाँ लहरै आएको छ। प्रवेश गर्नेको लहर नै आएको छ। पहिलाभन्दा एमाले शक्तिशाली पार्टी भएको छ। हामी ललितपुरमा १४ देखि २० वडामा जित्छौं।

भिडकै आधारमा चुनावमा मत आउला र? यस अघिका उदाहरण तपाइले देख्नु भएको होला नि?

पार्टी प्रवेश गरेको के हो? त्यो बढ्नु होइन। पार्टी प्रवेश धेरै गरेर हारेको ठाउँ कुन चाहि छ? मनमोहन सरकार ढालिसकेपछि पार्टी प्रवेश गरे गरे अनि २०५४ सालमा स्थानीय तहको चुनावमा एमालेले दुई तिहाइ बहुमतले जित्यो। पछि पार्टी फुट्दाखेरी पार्टी प्रवेशको काम रोकियो। अरु पार्टीमा प्रवेश गर्ने मान्छे छँदै छैन। हामी अहिले सत्तामा नरहे पनि जनताको मनको सत्तामा रहेका छौँ। त्यही भएर हामी जित्छौ।

कुनै बेला पार्टीको अन्तरसंघर्षमा तपाइ माधव नेपालको समूहमा पनि हुनुहुन्थ्यो। अध्यक्ष ओलीले गरेका पछिल्ला केही निर्णयहरु आलोचित पनि भए तपाइले कसरी हेर्नु भएको छ?

म जहिले पनि संस्थापनको पक्षमा। केपी ओली अध्यक्ष भएपछि केपी ओलीको पछी लाग्नुपर्‍यो नि। पार्टीभित्र लड्ने कुरा बेग्लै होला। राजनीतिक कुरा जो छ त्यसमा एमाले सुदृढ भएको छ। बाहिर पनि सबभन्दा संगठित पार्टीका रुपमा आएको छ। अरु ठाउँमा प्रतिपक्षले सत्ता पक्षको विरुद्धमा गठबन्धन गर्छ यहाँ सत्ता पक्षले प्रतिपक्षलाई घेरिरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell