हेटौंडा उपमहानगरपालिकामा मीनाकुमारी लामा मेयरकी उम्मेद्वार हुन्। गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी उनी नेकपा एकीकृत समाजवादीकी नेतृ हुन्।
पाँच वर्ष उपमहानगरपालिकामा उपमेयर रहेकी उनी आफ्नो नेतृत्वमा शुरु भएका कामलाई पुरा गर्न मेयरमा उम्मेद्वार दिएकी बताउँछिन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी उनी पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको समाजवादीमा छिन्।
कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनबाट चुनावी मैदानमा रहेकी मीनासँग पहिलोपोस्टका लागि निशा गुरुङले गरेको कुराकानीको सम्पादित अंश :
हेटौंडा उपमहानगरपालिकामा तपाईको उम्मेद्वारी किन?
मेरो उम्मेद्वारी हेटौंडाको विकासको लागि हो। हेटौंडालाई डिजिटल शहर बनाउन र हेटौंडाको परिवर्तनको लागि मेरो हो।
चुनावमा जित्ने आधार के - के छन्?
पाँच वर्षसम्म हेटौंडा उपमहानगरपालिकाको उपमेयर भएर काम गरेको छु। कोभिडजस्तो महामारीमा दिनरात जनताको सेवामा लागें। ठुलाठुला योजनाका समितिमा मैले उपप्रमुख भएर काम गरें। हेटौंडा उपमहानगरपालिकामा ठुला संरचना बनाउने काममा उत्तिकै खटें। र, म महिला भएकै कारण पनि म जित्ने आधार बलियो छ।
किनभने आजको दिनसम्म प्रमुख पद नपाएको हेटौंडामा महिलाको आवश्यकता छ। र हामी पाँच दलीय गठबन्धन मिलेर निर्वाचनमा जाँदैछौ। त्यही भएर पनि जित्ने आधार बलियो बन्दैछ। गठबन्धनकामात्र होइन एमालेलगायत अन्य पक्षका महिलाले पनि मतदान गर्नेछन्।
तपाईको चुनावी योजना के छन्?
हेटौंडालाई डिजिटल शहर बनाउने मेरो पहिलो योजना हो। हेटौंडाको कर्रा खोला र राप्ती खोलालाई पर्यटकिय क्षेत्र बनाई मुख्य आन्तरिक स्रोतमा वृद्धि गर्नेछु। औद्योगिक क्षेत्र निर्माण भएको हेटौंडामा बेरोजगार जनताहरुलाई रोजगार दिलाउँछौं। १९ वटै वडामा सबै पूर्वाधार पक्की, घरघरमा पानी, बिजुली र जेष्ठ नागरिकलाई छुट्टै अस्पताल उपमहानगरपालिकाका सबै वडामा मिनिरंगशाला निर्माण, महिला बालबालिकामैत्री बनाउनेलगायत योजना छन्। शिक्षामा पहुँच पुर्याउने र दिर्घरोगीका बिरामीहरुलाई निःशुल्क उपचारजस्ता विषय मेरो प्राथमिकता हुनेछन्।
तपाईंको पार्टी अध्यक्षले पार्टी छाडिसक्नुभयो, चुनावमा यसको असर त पर्ला नि?
जिल्ला अध्यक्षले पार्टी छाड्नु भएपछि केही असर त पर्लाजस्तो सुनिन्छ। तर यहाँ असरभन्दा पनि हल्ला बढी छ। उहको परित्यागले गठबन्धनको विजयको यात्रामा केही फरक पार्दैन।
गठबन्धनमा पनि असन्तुष्टि छन्, सबैको भोट पाउनेमा ढुक्क हुनुहुन्छ त?
मलाई धेरै विश्वास छ। किनभने नेपाली कांग्रेस कटिबद्ध र लोकतान्त्रिक पार्टी हो। नेकपा माओवादी केन्द्र पार्टी पनि हिजोका दिनमा आन्दोलनबाट आएको पार्टी हो र हाम्रो अर्जुनदृष्टि भनेको पनि देशैभर गठबन्धनलाई जिताउनु हो। हामी सबै एकताबद्ध छौं। जित्नेमा ढुक्क छौं।